प्रदेश नम्बर पाँच सरकारका मुख्यमन्त्री शंकर पोखरेलसँग मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको कान्छु प्रदेशका गर्भनर थाङ रनच्यानले भेटवार्ता गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार भएको भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को विशेषता र संभावनाबारे जानकारी गराउँदै संघीयता कार्यान्वयनको एक वर्षमा आवधिक योजना र कानुन निर्माणलाई प्राथमिकता दिएको र योजनाबद्ध विकासको बाटो तय गरेको बताए।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित धेरै बौद्ध संस्कृतिसँग सम्बन्धित सम्पदास्थलहरू रहेको र ती क्षेत्रमा पर्यटन प्रवर्द्धन गरी लाभ लिने गरी योजना अघि सारिएको मुख्यमन्त्री पोखरेलले जानकारी दिए।
गभर्नर रनच्यानले प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा खुसी लागेको बताए।
उनले नेपाल र चीन बीचको सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताउँदै सम्बन्धलाई मजबुत र फराकिलो बनाएर द्विपक्षीय हितमा धेरै काम गर्न सकिने बताएका थिए।
द्विपक्षीय सहकार्यमार्फत् साँस्कृतिक तथा पर्यटन क्षेत्रमा धेरै गर्न सकिने उनको भनाइ थियो। उनले प्रदेश ५ को अवस्थाबारे मुख्यमन्त्रीबाट जानकारी पाएपछि प्रदेश ५ र कान्छु प्रदेशको अवस्था मिल्दोजुल्दो भएको बताए।
कान्छु प्रदेशले कृषि उत्पादन र पर्यटन प्रवद्र्धन गरी राम्रो लाभ लिएको जानकारी दिदै नेपाल आउने स्याउ मध्ये आधा भन्दा धेरै कान्छुबाट आउने उनले बताए ।
भेटवार्तामा मुख्यमन्त्री पोखरेलले नेपालको विकास प्रयासमा चिनियाँ सहयोग आवश्यक रहेको र खासगरी पूर्वाधार विकासमा चिनियाँ सहयोगले धेरै लाभ लिन सकिने बताए।
स्याउ उत्पादन राम्रो रहेको र नेपाल आउने स्याउको ठूलो हिस्सा कान्छुबाट आएको जानकारी पाएपछि मुख्यमन्त्री पोखरेलले हिमाली क्षेत्रमा पनि स्याउको सम्भावना राम्रो रहेको र प्रविधि हस्तान्तरणको अपेक्षा गरे।
त्यसैगरी उनले पर्यटन प्रवर्द्धनमा कान्छुको अनुभव यहाँ काम लाग्ने भएकाले द्विपक्षीय अनुभव आदानप्रदानलाई बढाउँदै लैजानुपर्ने बताए।
यसैगरी द्विपक्षीय सहयोग र साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। मुख्यमन्त्री शंकर पोखरेल र गभर्नर थाङ रनच्यानको उपस्थितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल र कान्छु प्रदेशका साँस्कृतिक तथा पर्यटन निर्देशक थन वइतोङले हस्ताक्षर गरी समझदारी पत्र आदानप्रदान गरेका थिए।
साँस्कृतिक आदान प्रदान र पर्यटन प्रवर्द्धनका लागि दुई देशका विज्ञ, उद्यमी र सरकारी अधिकारीको भ्रमण आदान प्रदान बढाउने, नेपालको पर्यटन विकासका लागि चिनियाँ लगानी बढाउने समझदारीपत्रमा उल्लेख छ ।
त्यसैगरी, रुपन्देहीको सैनामैना नगरपालिका र चीनको गाननान स्वायत्त प्रिफेक्चरबीच भगिनी सम्बन्ध कायम गर्ने प्रारम्भिक सहमति भएको छ। सहमतिपत्रमा सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्की र गाननान स्वायत्त प्रिफेक्चरका डेपुटी गभर्नर शी चानयानले हस्ताक्षर गरी सहमति पत्र आदानप्रदान गरे।