भारतीय लोकसभा चुनावमा उत्तर प्रदेशको बनारसबाट चुनाव लडेका प्रधानमन्त्री नरेन्द्र मोदी ३ लाख ४७ हजार ९ सय ४ भोटकासाथ अग्रस्थानमा छन्।
बिहान ८ बजे देखि भएको मतगणनाको पछिल्लो परिणाम अनुसार उनलाई समाजवादी पार्टीकी शालीनी यादवले पछ्याइरहेकी छन्। यादवले अहिलेसम्म १ लाख ६ हजार ३ सय ३१ मत ल्याएकी छन्।
भारतीय कंग्रेसका अजय राय ७० हजार १ सय ५७ मतकासाथ तेस्रो स्थानमा छन्।
सन् २०१४ को चुनावमा आमआदमी पार्टीका रविन्द केजरीवाललाई झण्डै ४ लाखमतले हराउँदै मोदीले वनारसबाटै जितेका थिए। त्यतिवेला मोदिले ५ लाख ८१ हजार २२ मत ल्याएका थिए। केजरीवालले भने २ लाख, ९ हजार २ सय ३८ मत ल्याएका थिए।
कांग्रेसका उम्मेदवार रायको त्यतिवेला पनि ७५ हजार ६ सय भोट आएको थियो।
अहिलेसम्मको मतगणनामा भारतीय जनता पार्टी एक्लैले बहुमतभन्दा बढी सिटमा अग्रता लिएको छ।
टाइम्स अफ इन्डियाका अनुसार भाजपा एक्लैले २९२ सिटमा अग्रता लिएको छ। यसको अर्थ चार वर्षअघि विकासको नारा दिएर प्रधानमन्त्री बनेका नरेन्द्र मोदी फेरि पनि प्रधानमन्त्री बन्ने भएका छन्।
भारतमा सरकार बनाउन २७२ सिट चाहिन्छ। चार वर्षअघि भाजपाले २८२ सिट पाएको थियो। यसपालि झन्डै १० बढी सिटमा अग्रता लिएको छ।
उसको एनडिए गठबन्धनले ३४४ सिटमा अग्रता लिएको छ। प्रमुख प्रतिपक्षी भारतीय कंग्रेस पनि चार वर्षअघिभन्दा केही सुधार त गरेको छ तर पनि उसको गठबन्धन अझै धेरै पछि छ।
कंग्रेस एक्लैले ५२ सिटमा अग्रता लिएको छ भने युपिए गठबन्धनको ७९ सिटमा अग्रता छ। सन् २०१४ मा कंग्रेसले ४४ र उसको गठबन्धनले ६० सिट जितेको थियो।