भारतीय लोकसभा चुनावको नतिजा नआउँदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाईको ओइरो लागेको छ।
सात चरणमा भएको मतदानको आज बिहानदेखि गणना भइराखेका छन्। ५४३ लोकसभा सिटमध्ये ३४० भन्दा बढीमा सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले लिड गरिराखेका छन्।
भारतीय जनता पार्टी एक्लैले २ सय ७२ भन्दा बढी सिट ल्याउने अनुमान गरिएको छ। यसैक्रममा पुन: प्रधानमन्त्री बन्ने बाटो खुला भएकोमा प्रधानमन्त्री मोदीलाई विभिन्न देशका राष्ट्र प्रमुख तथा प्रधानमन्त्रीले बधाई दिएका छन्।
मतगणना आजै बेलुकीसम्म सकिने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
मोदीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, चीनका राष्ट्रपति सी चिनफिङ, नेपालका पूर्वप्रधानमन्त्री एवं सत्तारुढ पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बधाई दिएका हुन्।
यस्तै अफगानिस्तानका राष्ट्रपति असार्फ घानीले पनि बधाई दिएका छन्। भुटानका राजा जिग्मे केशर नाम्गेल वानचुकले पनि मोदीलाई टेलिफोन गरी बधाई दिएका हुन्।
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले मोदीलाई टेलिग्राम पठाएर बधाई दिएका छन्। जापानका प्रधानमन्त्री सिन्जो आबेले पनि मोदीलाई टेलिफोन गरी बधाई दिए।