सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सदनमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने बताएका छन्।
मन्त्रिपरिषदका निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले विधेयकबारे संसदमा छलफल हुने तर फिर्ता नहुने बताएका हुन्।
नेपाल पत्रकार महासंघलगायत संघसंस्थाले विधेयकमाथि दिएका सुझाव हेर्ने र बहस सुरू गर्ने पनि उनले बताए।
‘विधेयक फिर्ता हुँदैन,’ उनले भने।
प्रेस क्षेत्रको समृद्धि सरकारको चाहना भए पनि सरकारले आरती भने नखोजेको उनले बताए।
‘धेरै नबोलुँ। मैले बोल्यो कि अप्ठ्यारो परिहाल्छ,’ उनले भने।
सत्तारूढ नेकपाकै सचिवालय सदस्य वामदेव गौतम, नेता सुवास नेम्वाङ, पत्रकार महासंघ, सम्पादकहरूले विधेयक फिर्ता लिन माग गरे पनि बाँस्कोटाले फिर्ता नहुने दोहोर्याएका हुन्।