प्रधानमन्त्रीलाई भेट्न आउजाउ गर्ने थुप्रै नेता, कार्यकर्ता, मतदाता, शुभचिन्तक हुन्छन्।
बिहान सबेरैदेखि रातिसम्म दैनिक सयौं मानिसहरूसँग प्रधानमन्त्रीको भेटघाट र अन्तर्क्रिया हुन्छ। तर बिहीबार बिहान प्रधानमन्त्री ओलीको करिब १५ मिनेटको भेटघाट भने बिल्कुल फरक रह्यो।
सधैँ राष्ट्रिय राजनीति र विकासका ठूला ठूला नीति र योजनाका विषयमा छलफल हुने यस ठाउँमा आज प्रधानमन्त्रीले आफ्नो जन्मस्थानको चर्चा र बाल्यकालका साथीसंगीलाई सम्झना गरे।
चुहानडाँडा विमानस्थलका लागि रकम माग गर्नका लागि आठराई गाउँपालिकाबाट एउटा समूह प्रधानमन्त्री निवासमा आएको थियो। त्यहाँ अधिकांश उतै आठराई मै बसोबास गरेकाहरू र केही झापा र राजधानीमा बसोबास गरिरहेका तर आठराईलाई माया गर्नेहरू थिए। आठराईमा विमान स्थलका लागि पैसा माग्न आएको समूहका बारेमा
पूर्वजानकारी पाएका प्रधानमन्त्री ओली अनौपचारिक पोशाकमा नेकपाका महासचिव विष्णु पौडेलसहित बैठक कक्षमा प्रवेश गरे।
‘के छ आठराईको खबर ?’ प्रधानमन्त्रीको जिज्ञासा थियो।
आगन्तुक सबैले आठराई विमानस्थलका लागि रकम छुट्याउन माग गरे।
‘नीति कार्यक्रममा आइसकेको छ। बजेटका लागि चिन्ता नगर्नू’ प्रधानमन्त्री ओलीले भने।
त्यसपछि प्रधानमन्त्री ओलीले आफूसँग भएको कलेजी रंगको डायरी पल्टाएर आठराईको एउटा सडकको योजना सुनाए।
सुकेपोखरी–छातेढुंगा – प्रणामी मावि इवा –भदौरे –बिजौरे आधारभूत विद्यालय हुवाकु –निगुरादिन – चोपुर हुँदै हाङपाङ स्कूल – शान्ति आधारभूत विद्यालय मिचिरिङ हुँदै दोभान–ठोट्ने हुँदै तेल्लाबुङसम्म सडकका लागि पनि यसपालि रकमको व्यवस्था हुन्छ।
जन्मस्थान आठराई इवा छोडेको ५८ वर्षपछि पनि आठराईका चोकचोकमा नाम प्रधानमन्त्रीले फटाफट भनेको सुनेपछि आठराईबासीहरूले प्रधानमन्त्रीलाई अहिले पनि उही इवाकै छिमेकीकै रुपमा महशुस गरे।
चुहानडाँडा विमानस्थलमा रकम माग गरिएको कागज लिएर प्रदेशसभा सांसद तेजमान कङ्दङ्वा प्रधानमन्त्री नजिक गए।
तेजमानको हात समाएर प्रधानमन्त्री ओलीले महासचिव पौडेललाई चिनाउँदै भने, ‘ऊ मेरो गाउँले भाइ हो। अहिले प्रदेशसभाको सांसद।’ प्रधानमन्त्रीले फेरि सम्झिए, ‘अर्का तेजबहादुर कङदङ्वा पनि हुनुहुन्छ । वहाँ चाहिँ विर्तामोडमा हुनहुन्छ। तेजप्रसाद कङदङ्वाचाँही मेरै सामु हुनुहुन्छ।’
प्रधानमन्त्री ओलीले बालसखा चन्द्र कन्दङवाको पनि सम्झना गरे।
‘मेरो बाल्यकालको साथी चन्द्र। म भन्दा सिनियर पनि हुन् तर पनि हामी साथी साथी थियौं। हामीले एकैदिन २०२६ साल फागुन १२ गते नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका। अर्का सूर्य कङदङवा त मेरा गुरु नै हुनुभो।’
प्रधानमन्त्रीलाई आठराईबासीले भने, ‘हामीलाई पानीको चाहिँ साह्रै समस्या छ।’
यति भनिसक्दा प्रधानमन्त्रीले आफूले बाल्यकालमा पानी खाने गरेको इवा कै चुच्चेधारो सम्झिए।
‘ऊ बेला चुच्चेधाराको पानी अजुंलीमा थापेर खान कम्ती मजा हुँदैन थियो,’ प्रधानमन्त्रीले भने, ‘अहिले सुकेर तिर्र....मात्र पानी आउँदो रहेछ। ५ वर्षअघि आठराई गएको बेला चुच्चे धाराको रवाफ दिँदै श्रीमतीलाई पनि पानी खुवाउन लिएर गएको त पानी सुकिसकेछ । त्यसपछि आफैं हिस्स परियो।’
प्रधानमन्त्री ओलीले आठराईमा एउटा फुटबल मैदानको प्रस्ताव गरे।
‘तपाईंहरूसँग छ भने जग्गा दिनुहोस्। हैन भने म जग्गा दिन्छु ,’ प्रधानमन्त्रीले सम्झिए, ‘छन् त चुहानडाँडामा उप्रेतीटार,थपलीयाटार।’
त्यसपछि प्रधानमन्त्री इवाको भित्रिया र खमारेको बगैंचामा पुगे। भित्रिया र खमारेको बगैंचामा खाएका आँप र कटहरको चर्चा प्रधानमन्त्रीले गरे।
‘हरेक वर्ष असार २२ गते कटर टिप्ने दिन हुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले पनि धेरै पटक यहाँका आँप कटहर टिपेको छु। खाएको छु। अहिले छन् कि छैनन् भित्रिया र खमारेमा आँप कटहर?’