भारतीय लोकसभा चुनावको नतिजा आइसकेको छ। यसपालिको चुनावमा पनि विगतका वर्षमा झैं चर्चित कलाकारहरूले उम्मेदवारी दिएका थिए।
बलिउड, दक्षिण भारतीय, बंगाली, भोजपुर फिल्म तथा टिभीका कलाकारहरूमध्ये केहीले जितेका छन्।
चुनावमा उम्मेदवारी दिने कलाकारहरूमध्ये आमा (सौतेनी)-छोरा हेमा मालिनी र सनी देओल चर्चामा थिए। उनीहरू दुवै भारतीय जनता पार्टीबाट उठेका थिए र दुवैले जितेका छन्।
त्यस्तै शत्रुघ्न सिन्हा र उनकी पत्नी पुनम सिन्हा दुवैले हारेका छन्।
अर्की हिट कलाकार उर्मिला मातोन्डकर भने कंग्रेस उम्मेदवार थिइन्। उनले चुनाव हारेकी छन्।
हेर्नुहोस् कुन कलाकारले जिते, कुनले हारे-
हेमा मालिनीः भाजपाकी उनले मथुराबाट उम्मेदवारी दिएकी थिइन्। राष्ट्रिय लोक दलका कुवँर नरेन्द्र सिंहलाई हेमाले पछि पारिन्।
पुनम सिन्हाः समाजवाद पार्टीकी उनी लखनउबाट उठेकी थिइन्। पुनमलाई भाजपाका राजनाथ सिंहले पछि पारे।
शत्रुघ्न सिन्हाः उनले कंग्रेसबाट पटना साहिबमा उम्मेदवारी दिएका थिए। भाजपाका रविशंकर प्रसादले शत्रुघ्नलाई हराए।
सनी देओलः गुरदासपुरबाट भाजपा उम्मेदवार भएका सनीले कंग्रेसका सुनील जखारलाई पछि पार्दै जित हासिल गरे।
प्रकाश राजः दक्षिण भारतीय तथा बलिउड कलाकार प्रकाशले बैंगलोरबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले हारे।
उर्मिला मातोन्डकरः चुनावअघि मात्र कंग्रेस प्रवेश गरेकी उर्मिला नर्थ मुम्बईबाट उठेकी थिइन्। उनलाई भाजपाका गोपाल सेट्ठीले पछि पारे।
किरन खेरः चण्डीगढबाट भाजपाकी उम्मेदवार किरनले कंग्रेसका पवन कुमार वंशललाई हराउँदै जित हासिल गरिन्।
जया प्रदाः भाजपाका तर्फबाट रामपुरमा उठेकी जयालाई समाजवादी पार्टीका अजम खानले पछि पारे।
नुसरत जहनः पश्चिम बंगाल बसिरहतमा अल इन्डिया ट्रिनामुल कंग्रेस (एआइटिसी) बाट उम्मेदवारी दिएकी नुसरतले भाजपाका सायन्तन वासुलाई हराएकी छन्। २८ वर्षीया नुसरत बंगाली फिल्म तथा टिभीकी कलाकार हुन्।
मिमी चक्रवर्तीः एआइटिसीबाटै जादवपुरमा उठेकी मिमीले भाजपाका अनुपम हाजरालाई पछि पारेकी हुन्। ३० वर्षीया मिमी बंगाली फिल्म तथा टिभी कलाकार हुन्।
मुनमुन सेनः असनसोलमा एआइटिसी उम्मेदवार भएकी मुनमुनलाई भाजपाका बाबुल सुप्रियोले पछि पारेका छन्।
स्मृति इरानीः भाजपा उम्मेदवार स्मृतिले अमेठीमा कंग्रेसका राहुल गान्धीलाई हराएकी हुन्।
रवि किसनः भोजपुरी तथा बलिउड कलाकार रवि गोरखपुरमा भाजपा उम्मेदवार थिए। उनले समाजवादी पार्टीका रामभुवल निसादलाई पछि पारेका हुन्।
मनोज तिवारीः गायक तथा कलाकार मनोजले नर्थ इस्ट दिल्लीमा भाजपाका तर्फबाट उम्मेदवारी दिएका थिए। उनले कंग्रेसकी शिला दिक्षितलाई हराएका हुन्।