अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साउदी अरबमा हज गर्न जाने यात्रुका लागि हवाई टिकट व्यवस्था गर्ने ठेक्कापट्टामा अनियमितता गरेको अभियोगमा नेपाल हज कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहब्बत शोएबसहित १० जनालाई भ्रष्टाचार मुद्दा लगाएको छ।
उनीहरूलाई ३८ लाख रूपैयाँबराबरको रकम हिनामिना गरेको अख्तियारको आरोप छ।
हजयात्रामा जाने यात्रुको लागि हवाई टिकटको टेण्डरमा सबभन्दा कम कबोल गरेकोलाई छोडेर दोस्रो कम कबोल गर्ने हिना ट्राभल्स एण्ड टुर कम्पनीलाई छानेको आरोपमा बुधबार अख्तियारले विशेष अदालतमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो।
हकमा देहाय बमोजिमको कसूरमा देहाय बमोजिमको सजाय हुन माग दाबी लिई आरोप-पत्र दायर गरिएको छ।
अख्तियारले हिना ट्राभल्स एण्ड टुर्सका सञ्चालक दाउद हुसैनविरूद्ध पनि भ्रष्टाचार मुद्दा लगाएको छ।
अध्यक्ष शोएब, सदस्यहरू अतावुल अंसारी, मोहम्मद इब्राहिम राइन, महम्मद जबारदिन मियाँ, जमिला मियाँ, मोमिना वानु मुस्लिम, मजिबुल शेष, हज समिति सचिवालयका भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र हिना ट्राभल्सका दाउद हुसैनविरूद्ध अख्तियारले मुद्दा चलाएको छ।
मुस्लिम धर्मावलम्बी वर्षेनी हज गर्न सामूहिकरूपमा नेपालबाट साउदी अरब जाने गर्छन्। नेपाल हज समितिले हज यात्राको लागि हवाई जहाज टिकट लगायतका व्यवस्था गर्दै आएको छ।
२०१७ को हजयात्राका लागि उक्त समितिले आउने/जाने हवाई टिकट व्यवस्था गर्न बोलपत्र आह्वान गरेको थियो।
जसमा सबभन्दा कम रकम कबोल गर्ने ट्राभल कम्पनी यूनिभर्सल टुर एण्ड ट्राभल्स थियो। उसले फ्लाइ दुबईको टिकट प्रतिव्यक्ति ८८ हजार ९ सय ९५ रूपैयाँमा मिलाइदिने भनेको थियो।
त्यस्तै, हिना ट्राभल्स एण्ड टुर्सले एयर अरबियाको टिकट ९० हजारमा मिलाइदिने भनेको थियो। यो दोस्रो कम कबोल गर्ने ट्राभल हो। सबभन्दा बढी ९५ हजार ३०० सय कबोल गरेको संस्था सिलिङ्क्स ट्राभल थियो।
हज समितिले भने शोएबको संयोजकत्वमा यीमध्ये एकलाई छनोट गर्न उपसमिति गठन गरेको थियो।
उक्त उपसमितिले सबभन्दा कम कबोल गर्नेलाई छोडेर दोस्रो कबोल गर्ने हिना ट्राभल्सलाई छानेको थियो। उक्त कार्य खरिद ऐनविपरीत भएको अख्तियारको आरोप छ।