चीनसँगको द्विपक्षीय हवाई सम्झौता पुनरावलोकनको तयारीमा नेपाल छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसका लागि चीन सरकारलाई पहिलो ड्राफ्ट पठाइसकेको छ।
सम्झौता र हवाई उडान अनुमति फरक कुरा हुन्। यसअघिकै सम्झौताअनुसार नेपाली एयरलाइन्सले चीनको मुख्य भूमिमा अहिलेसम्म एउटा पनि उडान अनुमति पाएका छैनन्। चीनका एयरलाइन्सले भने सम्झौतामा तोकिएका सबै क्षमता उपयोग गरिसकेका छन्।
सन् २०१५ मै चीन उडानका लागि आवेदन दिएर बसेको नेपाल एयरलाइन्सले दोस्रोपटक चीनमा कर्मचारी नै नियुक्त गरिसकेको छ भने चीनकै तीब्बत एयरलाइन्सको लगानी रहेको हिमालय एयरलाइन्सले अनुमति मागेको पनि धेरै भइसकेको छ।
तर नेपाली एयरलाइन्सले चीन उडान अनुमति पाएका छैनन्। चिनियाँ पक्षले नेपाली जहाजले उडान भर्न चाहेका विमानस्थलमा स्लट नभएको भन्दै अनुमति दिन आनाकानी गरिरहेको छ।
यो पटकको सम्झौता पुनरावलोकनमा नेपालका तर्फबाट केही नयाँ प्वाइन्ट थप गर्नेबाहेक खासै चासो रहेको छैन।
अधिकारीहरूका अनुसार हिमालय एयरलाइन्सले नयाँ विमानस्थललाई नेपाली एयरलाइन्सका लागि खुला गरिदिनु पर्ने भन्दै राखेको मागअनुसार नेपाल सरकारले प्रस्ताव गरेको छ।
‘पुरानै सम्झौताअनुसार हाम्रा एयरलाइन्सले चीनमा अनुमति पाएका छैनन्,फ्रिक्वेन्सी थप गर्नु हाम्रो चासो होइन, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्वाइन्ट थप गराउनुबाहेक खासै हाम्रा चासो छैनन' मन्त्रालयका एक उच्च अधिकारीले सेतोपाटीसँग भने।
तर चीनले भने नेपालमा आफ्ना एयरलाइन्सका लागि उडान फ्रिक्वेन्सी थप गर्न खोजेको छ।
‘उनीहरूका एयलाइन्सले नेपालमा हालको सम्झौताअनुसार पाउनु पर्ने सबै उडान लिइसकेका छन्, त्यसैले थप गर्नु उनीहरूको स्वभाविक चासो हो,’ मन्त्रालय निकट स्रोतले भन्यो।
हाल पाँच चिनियाँ एयरलाइन्सले सातामा ४६ पटक काठमाडौं उडान गरिरहेका छन्।
एयर चाइनाले छेन्दु- ल्हासा हुँदै काठमाडौं ३ र छेन्दु-काठमाडौं ७ उडान गरी सातामा १० उडान गर्छ। चाइना इस्टर्नले कुनमिङ -काठमाडौं रूटमा दैनिक २ उडान (सातामा १४) उडान गरिरहेको छ। त्यस्तै चाइना साउदर्नले पनि साता१४ उडान गर्छ। यसले ग्वाङजाउ-काठमाडौं उडान गर्छ।
त्यस्तै ल्हासा ट्रान्जिट बनाएर छेन्दुबाट काठमाडौं उडान गर्ने सिचुवान एयरलाइन्सले पनि सातामा चार उडान गर्छ। छेन्दु-काठमाडौं रूटमा उडान गर्ने तिब्बत एयरलाइन्सले सातामा चार उडान गर्छ।