नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ।
केहीबेरअघि सुरू भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बालुवाटार स्रोतले बताएको छ।
आज हुने भेटमा लोकसेवा आयोगको विज्ञापन खारेज नगर्ने सरकारको अडान, पार्टीको कार्यविभाजनमा भइरहेको ढिलाइ, सचिवालयको बैठक आह्वानलगायत विषयमा कुरा हुने बालुवाटार स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ।
भेट पछिल्लो समय दुई अध्यक्षबीच देखिएको चिसोपनको कारण र त्यो चिसोपन हटाउन आ-आफ्नो तर्फबाट खेल्नु पर्ने भूमिकाबारे केन्द्रीत हुने स्रोतले बतायो।
जिल्ला इन्चार्ज र सहइन्चार्ज बनाउँदा दोहोरो भूमिका दिने या नदिने भन्नेबारे सचिवालय सदस्यहरूबीच मत नमिलेपछि गत जेठ २३ गते बसेको सचिवालय बैठक प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्किएलगत्तै प्याकेजमा टुंग्याउने भन्दै सकिएको थियो।
युरोप भ्रमणबाट असार १ गते बिहान काठमाडौं पुगेका ओलीले अरू भेटघाटलाई तीव्र बनाए पनि अर्का अध्यक्ष दाहालसँगभने कुराकानीसमेत गरेका थिएनन्।
बरु ओली र दाहाल दुबैले सचिवालयका अर्का सदस्य माधवकुमार नेपालसँग भने छुट्टाछुट्टै भेटेका थिए।
यो पनि हेर्नुहोस्
नेकपामा ओली, प्रचण्ड र नेपालमध्ये दुई नेता एक ठाउँ उभिने परिस्थिति बन्दै