सत्तारूढ दलकै प्रतिनिधिसभाका सांसदहरूले सरकारले विकास निर्माणको कामलाई अघि बढाउने गरी आवश्यक वातावरण मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाएका छन्।
प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा बोल्दै सत्तारूढ नेकपाका सांसदद्वय टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीले सरकारले विकास निर्माणको कामलाई अघि बढाउने गरी निर्माण सामग्रीको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका हुन्।
सांसद चौधरीले गिटी, ढुंगा र बालुवा जेठ मसान्तसम्म मात्रै झिक्न पाउने व्यवस्थाका कारण असारमा गर्नुपर्ने थुप्रै विकास निर्माणको कामहरू अलपत्र परेको भन्दै सरकारको आलोचना गरे।
असारमा पनि गिटी, ढुंगा र बालुवा झिक्न पाउने व्यवस्था सरकारले नमिलाएकै कारण असारमा गर्नुपर्ने विकास निर्माणको कामले गति लिन नसकेको उनको भनाइ छ।
नेकपाकै अर्का सांसद टोपबहादुर रायमाझीले विकास र समृद्धि मुलुकको लक्ष्य भएकाले सोही अनुसारको वातावरण बनाउन सरकारसँग माग गरे।
उनले गिटी, बालुवा र ढुंगा मापदण्ड पूरा गरेका खोलाहरूबाट असारमा पनि निकाल्न मिल्ने गरी कानुनी व्यवस्था गर्न ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराए।
असारमा गिटी, बालुवा र ढुंगा निकाल्न नपाउने कानुनी व्यवस्थाका कारण कतिपय ठूलो आयोजनाहरूको काम पनि अघि बढ्न नसकेको रायमाझीको भनाइ थियो।
बैठकमा समितिकी सभापति कल्याणी खड्काले विकास, निर्माणको कामलाई तीव्रता दिन सरकारलाई सचेत गराइन्।
उनले क्षमतानै नभएका ठेकेदार कम्पनीलाई कामको जिम्मा दिने गरेकाले विकास, निर्माणको काममा ढिलाइ हुने गरेको उल्लेख गर्दै त्यसो नगर्न पनि सरकारलाई निर्देशन गरिन्।
संघीय संसदको विकास तथा प्रविधि समितिले विकास, निर्माणको कामलाई तोकिएकै समयमा गुणस्तरीय ढंगबाट सम्पन्न गराउन पनि सरकारलाई पटक–पटक निर्देशन दिँदै आएको छ।