नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सरकारको अपरिपक्कता र दम्भले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि कमजोर भएको बताएका छन्।
कम्युनिष्ट सरकार र कम्युनिष्ट पार्टीले भेनेजुयलाका राष्ट्रपतिका छोरासहित मन्त्रीहरुलाई बोलाएर छवि धमिल्याएको कोइरालाको भनाइ छ।
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले शनिबार पोखरामा गरेको पहिलो जिल्ला अधिवेशन उद्घाटन गर्दै कोइरालाले भने, ‘भेनेजुयलाका राष्ट्रपतिका छोरा र त्यहाँका मन्त्रीलाई नेपाल बोलाएर कम्युनिष्ट नेताले के गर्न खोजेका हुन्? यसले नेपालको छवि कहाँ पुग्छ?’
देशको अस्मिता र राष्ट्रियतमाथि खेलवाड गर्न नहुने उनको भनाइ छ। उनले यस्ता अराजकताविरुद्ध कांग्रेस बोल्नुपर्ने बताए। ‘सडक र सदनमा आगो बाल्नुपर्ने बेला कांग्रेस आन्तरिक समस्या र द्वन्द्वमा अल्झिरहनु दु:खद हो,’ उनले भने।
अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीभित्रको गुटगट झगडा अन्त्य गर्नुपर्ने बताए। बृद्ध भइसकेका नेताले विश्राम नलिए अधिवेशनबाट विस्थापित गरिदिने उनको भनाइ छ।