नेपाल प्रहरीले शनिबार मध्यरातमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ।
उनीसँगै अर्का कार्यकर्ता रेशम तामाङ पनि पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखा, टेकुको टोलीले लामालाई विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट रातको साढे १२ बजे पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।
काठमाडौंलगायत ठाउँमा बम विष्फोटको घटनामा निर्देशन दिन लामाको भूमिका रहेको प्रहरीको दाबी छ। राजधानीको विभिन्न ठाउँमा बम विष्फोटको घटना भएपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो।
काठमाडौं सितापाइलाका लामा तत्कालीन माओवादी फुटेपछि वैद्य नेतृत्वको माओवादी हुँदै विप्लव पक्षमा लागेका थिए। उनी २०६४ को संविधानसभा चुनावमा काठमाडौंबाट उम्मेद्वार पनि भएका थिए।