प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेता बन्नका लागि आन्दोलन नगर्न रुपन्देहीका व्यवसायीहरूलाई सुझाव दिएका छन्।
सरकारले ल्याएको सामाजिक सुरक्षा कोष उद्योगीहरूको हक र हितको निम्ति रहेको भन्दै मुख्यमन्त्री पोखरेलले आफ्नो व्यवसायलाई विधि र पद्धतिमा लैजाने अभियानमा लाग्न उद्योगी व्यवसायीलाई सुझाव दिएका हुन्।
सामान ढुवानीमा लगाइएको भिसिटिए सिस्टम र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन अव्यवहारिक भएको भन्दै ज्ञापनपत्र बुझाउन गएका रुपन्देहीका उद्योगी व्यवसायीलाई मुख्यमन्त्री पोखरेलले यस्तो सुझाव दिएका हुन्।
व्यवसायीहरूको बुझाएको ११ बुँदे ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले सामाजिक सुरक्षा कोष उद्योगीहरूको हक र हितको निम्ति रहेको बताए।
उनले ढुवानीलाई व्यवस्थित गर्न सरकारले भिसिटिए सिस्टम ल्याएको बताए।
यसले व्यापारीहरूलाई कुनै घाटा नहुने भन्दै यसको विरोधमा उत्रिनु आवश्यक नरहेको बताए।
‘यो विषय प्रदेश सरकारको अधिकार क्षेत्रको विषय समेत होइन तर तपाईंहरूको गुनासो संघीय सरकारसम्म पुर्याउने छु,’ उनले भने।
मुख्यमन्त्री पोखरेलले कारोबार र करलाई व्यवस्थित गर्ने कार्यमा सबैको सहयोग आवश्यक रहेको भन्दै व्यवस्थित गर्दा सुरूका चरणमा केही समस्या जस्तो देखिए पनि पद्धति बसेपछि सजिलो हुने दाबी गरे।
उनले आन्दोलन गरेर मात्र समस्या समाधान नहुने भन्दै आफ्नो व्यवसायलाई व्यवस्थित गर्ने कार्यक्रम लाग्न आग्रह गरे।
‘करको दायरामा नभएका थुप्रै व्यवसायीहरू छन्, जसलाई, विधि र करको दायरामा ल्याउन पनि सरकारले भिसिटिए सिस्टममा ल्याएको हो,’ उनले भने।
रुपन्देहीका विभिन्न एघार वटा संघ संस्थाहरूले मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए।