नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ प्रदेश नम्बर २ को बाढी प्रभावित क्षेत्रमा पुगेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका छ जना चिकित्सकसहित नेविसंघले बाढी प्रभावितको नि:शुल्क स्वास्थ्य परीक्षण र औषधि वितरणमा सहयोग गरेको हो।
रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरस्थित बागमती नदीको बाँध फुटेर डुबान भएको बस्तीमा सोमबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको नेविसंघ नेता दीपक भट्टराईले सेतोपाटीलाई बताए। बीपी स्मृति दिवसको अवसरमा नेविसंघले आयोजना गरेको शिविरमा पाँच सय जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गरेका छन्।
दुषित पानीका कारणले अधिकांश बाढी पीडित बिरामी छन्।
‘पीडामा रहेका पीडितलाई मल्हम लगाउन सानो सहयोग गरेका हौं,’ भट्टराईले भने।
नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको टोली राहत सामग्री लिएर रौतहट पुगेको छ।
रौतहट चपुर, लक्ष्मीपुर क्षेत्रमा दुई सय घर परिवार बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेको नेविसंघ नेता मनिष सिंखडाले जानकारी दिए।
बाढी प्रभावितलाई राहत बाँड्न नेविसंघले काठमाडौंमा राहत संकलन गरेको थियो।