नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सांसद राम नारायण बिडारीले मध्यवर्ती क्षेत्रका बासिन्दालाई सुरक्षाको प्रत्याभूति दिन सरकारसँग माग गरेका छन्।
आइतबार राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसद बिडारीले वन्यजन्तु मार्दा राज्यको कानुनले जेल चलान गर्ने र नमार्दा आफ्नै ज्यान संकटमा पर्ने जोखिमपूर्ण अवस्थामा मध्यवर्ती क्षेत्रका बासिन्दा रहेको भन्दै उपयुक्त ढंगले सुरक्षाको बन्दोबस्त मिलाउन सरकारको ध्यानाकर्षण गराए।
उनले मान्छे र वन्यजन्तु दुवैको संरक्षण गर्नुपर्ने दायित्व भए पनि सरकारले वन्यजन्तुको मात्रै संरक्षण गर्ने गरेको आरोप लगाए।
गरिबलाई न्यूनतम आवश्यकताका लागि बासस्थान बनाउन प्रयोग गर्न नपाउने जंगल र रुख रातारात विदेश तस्कर भइरहेको भन्दै उनले ‘हरियो वन नेपालको धन’ भन्ने स्पष्ट नीति बनाउन ध्यानाकर्षण गराए।
वन्यजन्तु र वनजंगल संरक्षणसम्बन्धी विद्यमान ऐन कानुनप्रति असन्तुष्टि जनाउँदै उनले प्रश्न गरे, ‘मान्छेलाई सिकार गराएर वन्यजन्तु पाल्ने नीति लिने ठीक हो? कि मान्छेको पनि संरक्षण गर्नुपर्ने हो? मान्छेले वन्यजन्तु मारेमा २० वर्ष कैद गर्ने अनि वन्यजन्तुका कारण मानिसको मृत्यु हुँदा के गर्ने? रुखका लागि मान्छे कि मान्छेका लागि रुख? मान्छेका लागि वन्यजन्तु कि वन्यजन्तुका लागि मान्छे? मान्छेलाई वन्यजन्तुको आहारा बनाउने हो?’