सप्तरी–१ का प्रतिनिधि सभा सदस्य सूर्यनारायण यादवको राजीनामा फिर्ता गराउन पहल सुरू भएको छ।
आफू बिरामी हुँदै गएको र अब आराम गर्नु पर्ने भन्दै यादवले सोमबार सभामुख कृष्णबहादुर महरासमक्ष राजीनामा दिएका थिए। यादवलाई मधुमेह, मिर्गौलाको समस्या र उच्च रक्तचाप छ।
राजीनामा पत्रमा यादवले आफू बेलाबेलामा बेहोससमेत हुन थालेपछि अब आरामको आवश्यकता रहेको भन्दै राजीनामा दिएको बताएका छन्।
मेडिकल डाक्टरसमेत रहेका यादव प्रतिनिधिसभा चुनावमा समाजवादी फोरमबाट विजयी भएका थिए।
यादवको राजीनामा आएपछि सभामुख कृष्णबहादुर महराले समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियासँग परामर्श गरेका छन्।
‘यादवको राजीनामा आएपछि सभामुखज्यूले समाजवादी पार्टीका प्रमुख सचेतकसँग छलफल गर्नुभएको छ, उहाँहरूको कुरा आएपछि राजीनामा स्वीकृत गर्ने या गर्ने विषयमा निर्णय हुन्छ,’ सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले सेतोपाटीसँग भने।
अगरियाले आफूहरुले सांसद यादवको राजीनामा फिर्ता गराउने पहल गरिरहेको बताएका छन्।
‘उहाँले दलमा कुनै पनि परामर्श नगरिकन सिधै सभामुखलाई राजीनामा बुझाउनुभएछ, हामीले उहाँलाई आराम पनि गर्ने संसदमा सक्रिय पनि हुनेगरी व्यवस्था गर्छौं राजीनामा फिर्ता लिनुस् भनेका छौं, फिर्ता हुन्छ होला,’ उनले सेतोपाटीसँग भने।
अगरियाका अनुसार राजीनामालगत्तै उनी सम्पर्कमा आउन चाहेका छैनन्।
यादवका आफन्तहरूसँग भने संवाद भइरहेको छ।
बालरोग विशेषज्ञ यादव सप्तरी, धनुषा,महोत्तरी लगायत क्षेत्रमा लोकप्रिय चिकित्सक थिए। उनी गैरराजनीतिक व्यक्ति रहे पनि उपेन्द्र यादव अध्यक्ष रहेको तत्कालीन संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका थिए।
फोरम र बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल पार्टी मिलेर अहिले समाजवादी पार्टी बनेको छ।