उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ‘माना पाथी जोखे’ जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी काठमाडौं क्षेत्र नम्बर ५ ले मंगलबार राजधानीको बसुन्धरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले पार्टीभित्रको जिम्मेवारी बाँडफाँटलाई तुलोमा जोख्न नमिल्ने बताएका हुन्।
उनले नमिलेका विषयलाई प्रक्रियाबाट नै मिलाउँदै जानुपर्ने बताए।
उनले भने, ‘प्रक्रियाबाट नमिलेका कुराहरू मिलाउँदै जाने हो। एकैचोटि ‘माना पाथी जोखे’ जस्तो सबै कुरा मिल्दैन पार्टीमा। एकदम ढ्याक्क ढ्याक्क कति किलो जस्तो हुँदैन। यो जोखे जस्तो हुँदैन। नमिलेका कुराहरू भोलि व्यवहारमा मिलाउँदै जाने हो।’
उनले दुई पार्टी मिलेर एउटै पार्टी बनेकाले अब नेतृत्वको निर्णयलाई स्वीकार गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए।
उनले छिट्टै काठमाडौं जिल्ला कमिटीले पूर्णता पाउने विश्वास पनि दिलाए। काठमाडौं अन्तर्गत १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रीयस्तरका कमिटीले पूर्णता पाएका छैनन्।