चिनियाँ विदेश मन्त्री वाङ यी मंगलबार काठमाडौंबाट बेइजिङ उडेपछि चिनियाँ विदेश मन्त्रालय विज्ञप्ति निकाल्यो।
धेरै विज्ञप्तिमध्ये एउटामा यी र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटबारे उल्लेख छ।
उक्त भेटमा भएको कुराकानी उद्धृत गर्दै प्रचण्डले नेपालले अमेरिकाको इन्डो प्यासेफिक रणनीतिलाई अस्वीकार गर्ने बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
‘नेपाल असंलग्न नीतिलाई पूर्ण रूपमा अंगिकार गर्छ र अमेरिकाको तथाकथित इन्डो प्यासेफिक रणनीतिलाई अस्वीकार गर्छ। कसैले चीनको विकास रोक्न प्रयास गरे विरोध गर्छ, चीनको विकास नेपालका लागि अवसर हो भन्नेमा सधैँ विश्वास गर्छ र चीनको सफल अनुभवबाट सिक्न चाहन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ।
मंगलबार बिहान प्रचण्ड र यीबीच राजधानीको होटल मेरियटमा भेटवार्ता भएको थियो।
बेइजिङले निकालेको विज्ञप्तिबारे समाचार आएपछि काठमाडौंस्थित अमेरिकी राजदूतावासले यसबारे नेपाल सरकारको आधिकारिक धारणा मागेको छ। उसले नेपाल सरकारको धारणा बेइजिङको विज्ञप्तिबाट थाहा पाउनु अचम्मको कुरा भएको बताएको छ।
‘हामी नेपाल सरकारको आधिकारिक स्पष्टिकरण पर्खिरहेका छौं र हाम्रो बेइजिङस्थित दूतावासलाई पनि त्यो विज्ञप्तिको पुष्टिका लागि भनेका छौं,’ दूतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले भनिन्, ‘यदि यो सत्य हो भने नेपालको धारणा बेइजिङबाट निस्किने विज्ञप्तिबाट थाहा हुन्छ भने त्यो अचम्मको कुरा हो।’
दुई महिनाअघि एकजना अमेरिकी नागरिकलाई चिनियाँ दूतावासको आग्रहअनुसार त्रिभुवन विमानस्थलबाट फिर्ता पठाएको विषयमा पनि अमेरिकी दूतावासले आपत्ती जनाएको थियो।
नेपाल आएका अमेरिकी नागरिक पेम्पा छिरिङलाई त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयले पक्रेको थियो।
काठमाडौंस्थित चिनियाँ दूतावासले भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामाले बनाएको सरकारमा सभामुख भइसकेका पेम्पा छिरिङ नामका व्यक्तिलाई नेपाल प्रवेश रोक्न आग्रह गरेअनुसार सोही नाम भएका अमेरिकी नागरिक छिरिङलाई नेपालले डिपोर्ट गरेको थियो।
दूतावासको प्रश्न थियो- के नेपाल आउन चाहने अमेरिकी नागरिकले कुनै विदेशी सरकारहरूबाट स्वीकृति लिनुपर्ने हो?
त्यसअघि नेकपाका अध्यक्ष प्रचण्ड भेनेजुयलाको राजनीतिमा अमेरिकी हस्तक्षेप भएको भन्दै विज्ञप्ति निकालेका थिए।