उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले छापामा आएका समाचारको विषयलाई लिएर सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरेका छन्।
काठमाडौंमा शुक्रबार आयोजित साल्ट ट्रेडिङ कर्पोरेशनको ५७ औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सम्पुर्ण प्रेस जगतप्रति आक्रोश पोखे।
पत्रिकाका मालिकहरु व्यापारी पनि भएकाले आफू अनुकुलका समाचार लेखाउने गरेको उनको आरोप छ। कालोबजारी, तस्कर, भ्रष्ट र विगतमा देश लुटेको पैसा मिडियामा लगानी गरेकाहरु नै आफु र सरकार विरुद्ध उत्रिएको उनले बताए।
यादवले भने ‘पत्रिकाका मालिकहरु पनि व्यापारी छन्। खुद पत्रिका मात्रै चलाएर बसेका छैनन्। ठूला ठूला व्यापारी छन् । कतिपय मिडियाहरु त कालाबजारी र तस्करहरुको छ। भ्रष्ट, विगतमा देश लुटेको पैसा लगानी गरेको मिडियाहरु पनि छन्।’
मिडियाले समाचार छापेर आफूसँग पैसाको बार्गेनिङ गरेको पनि उनले दाबी गरे। राज्यको चौथो अंग भन्ने मिडिया सधै प्रतिपक्षीको भूमिकामा रहेको भन्दै उनले बार्गेनिङ गर्न खोज्नेप्रति ‘म्यानेज’ गर्न नजाने बताए।
उनले भने ‘आक्रामक हुनुपर्छ रे, नभएको कुरा पनि लेख्दिनुपर्छ भन्ने छ। त्यसपछि ती मन्त्रीहरु म्यानेज गर्न आउँछन् भन्ने छ, जे जे लेखे पनि मातृका कहिले म्यानेज गर्न जाँदैन। म त्यो कहिले पनि गर्दिनँ, बरु लेखोस्, जे जे लेखोस् लेखोस्।’
सरकारले निकासी पैठारी सम्बन्धमा अत्यावश्यक वस्तु आयातको बारेमा मात्रै भिन्न व्यवस्था गरेको भएपनि साल्टट्रेडिङ्ग कर्पोरेशनले गर्दै आएको काम निजी क्षेत्रलाई दिने कुनै निर्णय नभएको यादवले स्पष्ट पारे।