नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरूण दलको कार्यकाल सकिन तीन महिना बाँकी छ।
संघीय संरचना अनुसार प्रदेशदेखि वडासम्म तरूण दलले संगठन विस्तार गरी आगामी महाधिवेशनको तयारी सुरू गर्नुपर्ने हो तर अवस्था त्यस्तो छैन।
९५ सदस्यीय केन्द्रीय कार्यसमिति भए पनि अध्यक्ष जितजंग बस्नेत, महासचिव भूपेन्द्रजंग शाही, उपाध्यक्ष उत्तम चापागाईं र कोषाध्यक्ष विद्वान गुरूङ चार जना मात्रै पदाधिकारी छन्।
उनीहरूबीच पनि मनमुटाव बढेपछि शनिबार अध्यक्ष र महासचिवले एकअर्कालाई कारबाही गरेका हुन्।
अध्यक्ष बस्नेतले महाचिव शाहीलाई कारबाही गरेपछि शाहीले पनि बस्नेतलाई विज्ञप्तिबाट नै जवाफी कारबाही गरे।
२०७३ मंसिरमा पोखरामा भएको चौथो महाधिवेशनबाट शाही महासचिव निर्वाचित भएका थिए। शाही वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन्। सभापति बस्नेत भने पार्टी सभापति शेरबहादुर देउवा निकट छन्।
अध्यक्ष बस्नेतले कारबाही गरेका सिन्धुपाल्चोक उपाध्यक्ष सगुन श्रेष्ठलाई महासचिव शाहीले कारबाही फुकुवा गरिदिएपछि विवाद बढेको थियो।
साथै शाहीले सप्तरी तरूण अध्यक्षमा आफू निकटका सीताप्रसाद यादवलाई जिल्ला अधिवेशन गराउनेसम्मको जिम्मेवारी दिएर अध्यक्ष तोकिदिएपछि बस्नेत रूष्ट थिए।
बस्नेतले सिन्धुपाल्चोक उपाध्यक्षको कारबाही यथावत रहेको र सप्तरीमा कसैलाई पनि जिम्मेवारी नदिएको बताएपछि शाहीले कारबाही फुकुवा गरिएको र भ्रममा नपर्न आग्रह गर्दै विज्ञप्ति निकालेपछि सुरू विवादले गर्दा उनीहरूले एकअर्कालाई नै पदबाट नरहने गरी कारबाही गरेका हुन्।
‘म निर्वाचित महासचिव हो विधानअनुसार अध्यक्षले चाहेर हटाउन मिल्दैन,’ महासचिव शाहीले दाबी गर्दै आएका छन्। तर अध्यक्ष बस्नेतले भने तरूण दलमा र पार्टीका नेतासँग नै परामर्श गरी पदीय मर्यादालाई ख्याल नगर्ने महासचिवलाई कारबाही गरेको बताउने गरेका छन्।
छानबिन गरेर पार्टीले दबाइ गर्छ: प्रवक्ता शर्मा
मातृ पार्टी नेपाली कांग्रेसले तरूण दलभित्र भइरहेको विवादलाई नजिकबाट अध्ययन गरिराखेको बताएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्रको सांगठनिक विषय भएकोले अध्ययन गरेपछि मात्रै पार्टीले कदम चाल्ने जानकारी दिए।
‘विवाद भएको भन्ने पार्टीलाई जानकारी छ। सूक्ष्म ढंगले अध्ययन गरेर आन्तरिक रूपमै मिलाउँछौं,’ उनले सेतोपाटीसँग भने, ‘छानबिन गरेपछि पार्टीले दबाइ गर्छ।’
दोस्रो चरणको जागरण अभियानका बेला गाउँमा गएर परिचालन हुनुपर्नेमा आपसी विवाद गर्नु असुहाउँदो भएको शर्माले बताए।