नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले आफ्नै सचिवालयकी महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेका संघीय संसदका सभामुख कृष्ण बहादुर महरालाई पदबाट राजिनामा दिएर छानविनमा सहयोग गर्न आग्रह गरेका छन् ।
मंगलबार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै नेता थापाले सभामुख महरामाथि लागेको बलत्कारको आरोपमाथि निष्पक्ष छानविन गर्न माग गरे ।
घटनाबाट आफूलाई स्तब्ध बनाएको भन्दै थापाले कानूनी राज्यको सिमाभित्र राखेर प्रचलित घटनाको निष्पक्ष रुपमा छानविन गरिनुपर्ने बताए ।
‘यो घटनाले राज्यको क्षमतामाथि र देशको प्रतिष्ठामाथि आँच आएको छ, प्रहरी प्रशासनले कसैको दबाब र प्रभावमा नपरी तल्लो तहबाटै घटनाको निष्पक्ष छानविन गर्नुपर्छ ’ उनले भने ।
नेता थापाले महरा पदमा रहंदा छानविनमा प्रभाव पर्ने भएकोले घटनाको निष्पक्ष छानविनका लागि महराले पदबाट अलग रहेर घटनाको छानविन गर्न सघाउनुपर्ने बताए ।
यो महरासँग मात्र जोडिएको विषय होईन देशको प्रतिष्ठासंग पनि जोडिएको विषय हो, ‘उहाँले घटना टुंगो नलाग्दासम्म सभामुख पदबाट अलग भएर बस्छु भन्ने हिम्मत गर्नुपर्छ ’ उनले भने ।
त्यस्तै पछिल्ला सरकारका गतिविधिले राज्यप्रति जनताको निराशा पैदा गराएको दाबी गर्दै उनले सरकार विरुद्ध कांग्रेसले दशै पछाडि संघर्ष गर्ने समेत बताए ।
थापाले दशै अगाडि नै कांग्रेसका सबै भातृ संगठन र प्रदेश संरचनाले पूर्णता पाउने दावी गरे । कांग्रेसले गठन गरेको छायाँ सरकारले सही रुपमा अगाडि बढन नसकेको थापाले स्वीकार गरे ।