गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरू हुँदैछ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने सम्मेलन बिहीबारसम्म चल्नेछ।
अध्यक्षसहित १२ पदका लागि ४२ जनाले उम्मेदवारी दिने भएका छन्। नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुनेछ। ८१ देशबाट करिब दुई हजार पाँच सय जना प्रतिनिधि सम्मेलनमा सहभागी हुँदैछन्।
अध्यक्ष पदका लागि हालका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य मैदानमा उत्रने भएका छन्।
आचार्यले सोमबार पत्रकार सम्मेलन गरी आफ्नो प्यानलसमेत घोषणा गरिसकेका छन्।
उनले उपाध्यक्षमा केशव पौडेल, नरेन्द्र भाट, रविना थापा र मन केसीलाई समेटेका छन्। विधानअनुसार एक महिलासहित पाँच उपाध्यक्ष रहने व्यवस्था छ।
आचार्यको प्यानलबाट महासचिवमा जानकी गुरूङ र कोषाध्यक्षमा सोम सापकोटा छन्। पौडेलले आइतबार पत्रकार सम्मेलन गरी महासचिव उठ्ने घोषणा गरे पनि साथीहरूलाई सघाउने भन्दै सोमबार उपाध्यक्षमा उठ्ने बताए।
को हुन् आचार्य?
पर्वत घर भएका आचार्य बेलायत लण्डन बस्छन्। होलिकाउ ग्रुपका सञ्चालक रहेका आचार्यले बेलायतका विभिन्न सहरमा कम्पनीका नौ वटा शाखा खोलेका छन्, जहाँ दक्षिण एसियाली स्वादका खानाका परिकार पाइन्छ।
किचन पोटरबाट जागिर सुरू गरेका उनले केही समयपछि तन्दुरी सेफ भएर पनि काम गरे। सन् २००६ सालमा होलिकाउ कम्पनी खोलेदेखि नै उनी एनआरएनएमा सक्रिय भएर लागेका थिए।
आफ्नो कम्पनीमा नेपालीहरूलाई रोजगारीमा प्राथमिकता दिएको बताउने उनले एनआरएनए युके सदस्य, उपाध्यक्ष, अध्यक्ष, युरोप संयोजक हुँदै हाल उपाध्यक्ष छन्।
सोमबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा आचार्यले एनआरएनए राजनीति गर्ने थलो नभएको बताए।
‘एनआरएनएमा प्रजातान्त्रिक/वाम भन्ने छैन। हामी एनआरएन मात्रै छौं,’ उनले भने, ‘सामाजिक संस्थालाई व्यक्तिगत स्वार्थका लागि दुरूपयोग गर्न पाइँदैन। राजनीति गर्ने थलो यो होइन।’
एनआरएनको अध्यक्षमा आचार्यसँग प्रतिस्पर्धामा कुमार पन्त छन्। सन् २००३ सालमा उपेन्द्र महतोको नेतृत्वमा गठन भएको एनआरएनएमा उनी स्थापनाकालदेखि नै सक्रिय छन्। पन्तले आफ्नो तर्फबाट प्यानल घोषणा गरिसकेका छैनन्। पन्त दोहोर्याएर उपाध्यक्ष बनेका थिए।
‘दुई कार्यकाल उपाध्यक्ष भएपछि हाम्रो विधानअनुसार फेरि त्यही पदमा उम्मेदवारी दिन मिल्दैन। म अध्यक्ष उठ्छु भनेर पहिलेदेखि नै अध्यक्ष भवन भट्टलाई भनेको हुँ। उहाँ अध्यक्ष हुने बेला पनि मलाई पछि तपाईंलाई म सघाउँछु भन्नुभएको हो,’ पन्तले भनेका छन्।
पन्तले एनआरएनए गठन भएको १६ वर्ष अवधिमा संस्थाप्रति धेरै आरोप लागेको पनि बताएका छन्। ‘१६ वर्षको अन्तरालमा संस्थाप्रति धेरै आरोप छ। धनीहरूको संस्था भन्छन्, चुनावमा पैसा खर्च गर्छन् पनि भन्ने आरोप छ,’ उनले भने, ‘हाम्रो काम सामाजिक सेवा गर्ने र नेपालमा लगानी भित्र्याउने हो।’
को हुन् पन्त?
पन्त गोरखा फुजेलका हुन्। उनी पढ्न भनेर सन् १९९७ मा ग्रीस पुगेका थिए। तर लामो समय त्यहाँ बसेनन्, केही महिनापछि जर्मनी पुगे। उनले जर्मनीबाटै राजनीतिशास्त्रमा स्नातक गरेका छन्।
जर्मन पुगेको केही समयमा उनले होटलमा काम सुरू गरे। कोरियनले सञ्चालन गरेको होटलमा उनी चार वर्षसम्म म्यानेजर पनि भए। त्यसपछि आफैंले होटल किनेर सञ्चालन गर्न थाले। ३६ कोठाको एउटा होटलबाट व्यवसाय सुरू गरेका पन्तको अहिले जर्मनी, बेल्जियम, स्वीट्जरल्याण्डमा गरी २९ वटा होटल छन्।
व्यवसायसँगै पन्त एनआरएनएमा पनि निरन्तर लागिरहे। सन् २००४ सालमा एनआरएनए जर्मनी राष्ट्रिय परिषद् गठन गरी क्षेत्रीय सदस्य बने। केही महिनापछि उनी संयोजक पनि भए।
सन् २००९ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्, २०११ मा युरोप क्षेत्रको संयोजक निर्वाचित उनी २०१३ देखि १५ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिव भए। यसबेला शेष घले पहिलोपटक अध्यक्ष थिए।
सन् २०१५ मा उपाध्यक्ष भएका पन्त २०१७ देखि हालसम्म पनि उपाध्यक्ष नै छन्। उनी एनआरएनएको भवन निर्माणका लागि लगानी जुटाउने संयोजकसमेत रहेका थिए। बालुवाटारमा एनआरएनएको भवन निर्माण भई सञ्चालनमा आइसकेको छ।