प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमुक्त र सुशासनयुक्त समृद्ध नेपाल निर्माणका काम भइराखेको बताएका छन्।
केही पनि भएको छैन भन्ने भ्रममा नपर्न पनि उनले आग्रह गरे।
बुधबार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा पार्टी अध्यक्षसमेत रहेका ओलीले भने, ‘हल्लासल्लाको अर्थ छैन। केही पनि भएको छैन भन्ने हल्लाका पछाडि नदौडन आग्रह गर्छु।’
उनले विमानस्थलहरू निर्माण, स्तरोन्नति, सडक निर्माण, पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानीजस्ता काम भइराखेको पनि बताए।
‘कुनै भ्रममा नपरी एकताबद्ध भएर भ्रष्टाचारमुक्त र सुशासनयुक्त समृद्ध नेपाल बनाउनुछ,’ उनले थपे, ‘यतिमात्र होइन जनतालाई खुसी पनि राख्नुछ।’ सरकारले काम गरिराखेको भन्दै उनले आँखा खोलेर हेर्न पनि आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि अनुकूल वातावरण बनेको पनि बताए। वर्षातका बेला तराई क्षेत्र डुवान हुँदै आएकोमा भारतसँग कुराकानी गरेर डुवान अन्त्य गर्न पहल भइराखेको ओलीले बताए। ‘डुवान अन्त्य गर्न गम्भीर वार्ता भारतसँग भइराखेको छ,’ उनले भने।
नेपाल हामी आफैंले विकसील बनाउनुपर्ने भन्दै उनले रिस, राग र अनुचित प्रतिस्पर्धा गर्नुपर्ने कारण नभएको बताए।
‘ठूलासाना देशसँग हामी बराबरी हैसियतमा छौं,’ उनले भने, ‘हाम्रो देश हामीले नै बनाउने हो। रिस, राग र अनुचित प्रतिस्पर्धा गर्नुपर्ने कारण छैन।’