नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद अफताब आलमलाई पक्राउ गर्नु ‘कांग्रेसविरुद्धको षड्यन्त्र’ भएको बताएका छन्।
बोडेमा शुक्रबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले काङ्ग्रेसलाई प्रहार गर्न थालेको आरोप लगाए।
‘आलमलाई प्रहरी लगाएर पक्राउ गरी कांग्रेसविरूद्ध षड्यन्त्र शुरु भएको छ,’ देउवाले भने,‘१२ वर्ष अघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको छ।’
कार्यक्रममा तत्कालिन गृहमन्त्रीसमेत रहेका कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सञ्चारमाध्यमले समेत षडयन्त्रमूलक रुपमा काङ्ग्रेसको विरुद्धमा लागि परेको बताए।
‘पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर काङ्ग्रेसविरुद्ध लागेका छन्, काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो,’ उनले भने।
कांग्रेस दिनप्रतिदिन सङ्कटमा पर्दै आएको बताउँदै अब पार्टी सभापतिदेखि कार्यकर्तासम्मले आफ्नो आचरणमा सुधार गर्दै पार्टीलाई अगाडि बढाउनु पर्ने सिटौलाको भनाइ छ।
कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रममा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै उनले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको बताए। पौडेलले कांग्रेस विकल्पको रुपमा उदाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा उपसभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख बिमलेन्द्र निधिले काङ्ग्रेसले आसन्न उपनिर्वाचन जसरी पनि जित्नुपर्ने बताउँदै पार्टीभित्रको गुटबन्दी अन्त्य हुन जरुरी रहेको औँल्याए।
महामन्त्री शशांक कोइरालाले मुलुकलाई समृद्ध बनाउन सरकारमा काङ्ग्रेसको अभाव खड्किएकोले आन्तरिक एकताका साथ काङ्ग्रेस अघि बढ्नुपर्नेमा जोड दिए।
कांग्रेस पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काङ्ग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको प्रशिक्षणमा देशभर ४ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको कांग्रेस भक्तपुर जिल्ला सचिव निशान ढुङ्गेलले बताए।