भारतले कालापानी र लिपुलेकलाई मिचेर नयाँ नक्सा निकालेको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) युवक संगठनले राजधानीमा मसाल जुलुस निकालेको छ। जुलुस निकाल्ने क्रममा दुई दर्जन बढी पक्राउ परेका छन्।
राप्रपा पार्टी कार्यलय धुमबाराहीबाट निस्केको मसाल जुलुस गैरीधारा पुगेपछि प्रहरीले लाठी चार्ज गरेको थियो।
प्रहरीले राप्रपा युवक संगठनका उपाध्यक्ष मणि सिंखडा, सहायक प्रवक्ता रमान्द न्यौपाने, सचिव सन्तोषी शाही ठकुरी, कर्ण बहादुर माझी र सशी भण्डारीलाई पक्राउ गरेको छ। छत्र खडायत, निराजन बम, राजन अधिकारी, निशान कार्की, प्रदिप खड्का नरेश बिक, मुकेश पदारासहित दुई दर्जन पक्राउ परेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
‘प्रहरीले धेरैलाई घाइते बनाएको छ’ उनले सेतापाटीसँग भने। उनले सीमा रक्षाका लागि सरकारलाई दवाव दिन निकालिएको जुलुसमा प्रहरीको दमन भएको भन्दै भत्सर्ना गरे।