प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत बुधबार अमेरिका प्रस्थान गर्दैछन्।
मुख्यमन्त्री कार्यालयको लामो प्रयासपछि कूटनीतिक राहदानी पाएका मुख्यमन्त्री राउत अमेरिकाका लागि प्रस्थान गर्न लागेका हुन्। बुधबार मुख्यमन्त्री राउतसँगै प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा पनि अमेरिका जान लागेका छन्।
अपरान्ह ३ बजे उनी त्यसतर्फ प्रस्थान गर्दैछन्।
मुख्यमन्त्री राउत एसोसिएट अफ नेपाली तराइयन इन अमेरिका(एन्टा)को हुन लागेको साधारणसभामा भाग लिने छन्।
एन्टा अमेरिकामा बस्ने मधेशी मूलको नागरिकहरूको संस्था हो।
एन्टाको कार्यक्रममा सरिक भएर मुख्यमन्त्री राउत मंसिर ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको मुख्यमन्त्री राउतका प्रेस सल्लाहकार अतिश मिश्रले जानकारी दिए ।
गत वर्ष अमेरिकामा भएको ‘जनरल कन्भेन्सन अफ मधेसी एसोसियसन इन अमेरिका’ कार्यक्रममा भाग लिन जान उनलाई सरकारले रोक लगाएको थियो।
केन्द्र सरकारले अमेरिका जानबाट रोक लगाएपछि उनले भिडिओ कन्फरेन्समार्फत् त्यहाँ रहेका मधेशी समुदायलाई सम्बोधन गरेका थिए।