प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयदेखिको बोल्ती बन्द टुटेको छ।
गत भदौमा उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर जानुअघिको सचिवालय बैठकमा दुवै नेताबीच व्यक्तिगतस्तरमै भनाभन भएको थियो। त्यसपछि दुवैको दोहोरो संवाद हुँदैनथ्यो।
मंगलबार दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा लामो समयदेखिको 'बोल्ती बन्द' टुटेको हो।
नेता नेपालका सहयोगी मोहन गौतमले दुई नेताबीच मंगलबार चार घण्टा लामो भेटघाट भएको पुष्टि गरे। प्रधानमन्त्रीलाई भेट्न नेपाल बिहान ११ बजे बालुवाटार पुगेका थिए। प्रधानमन्त्री ओलीले दुई/तीन दिनदेखि नेपाललाई भेट्न खोजिरहेका थिए। तर समय मिलिरहेको थिएन।
प्रधानमन्त्री निकट स्रोतअनुसार, नेपाल पुग्दा ओलीको खाना खाने समय भएको थियो। नेपाल भने खाना खाएरै गएका थिए। तर, ओलीले एउटाले खाने अर्काले हेरिरहने हुन्न भनेपछि नेपाल पनि सँगै टेबलमा बसेर केही खानेकुरा खाएका थिए।
'खाना खाने टेबलदेखि सुरू भएको गफ चार घण्टा चल्यो,' बालुवाटार स्रोतले बतायो।
भेटमा पार्टी सञ्चालन र नेपाल-भारत सीमाबारे चलिरहेको विवाद लगायत विषयमा छलफल भएको कुरा आफूलाई नेपालले बताएको उनीनिकट एक नेताले सेतोपाटीलाई जानकारी दिए।
मन्त्रिपरिषद हेरफेर गर्नेबारे भने कुरा भए-नभएको यकिन गर्न नसकेको उनले बताए।
प्रधानमन्त्री ओली भदौमा लामो उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि बसेको नेकपा सचिवालयको बैठकमा दुवैबीच नमीठो संवाद भएको थियो। बैठक सुरुवात गर्दै प्रधानमन्त्रीले आफू सिंगापुर जान लागेको र आफ्नो अनुपस्थितिमा पनि पार्टीले निर्णय लिनसक्ने बताएका थिए। तर, त्यसको लागि आफूसँग सहमति लिनुपर्ने प्रस्ताव उनले गरेका थिए।
प्रधानमन्त्रीको सो प्रस्तावको नेपालले प्रतिवाद गरेपछि दुई नेताबीच चर्काचर्की नै भएको थियो।
त्यति बेला नेपालले विवादको बिट मार्दै प्रधानमन्त्रीलाई, ‘तपाईं (उपचारका लागि सिंगापुर) जाँदै हुनुहुन्छ, तपाईंलाई स्वास्थ्य लाभको कामना छ’ भनेका थिए।
बैठकमा उपस्थित स्रोतअनुसार ओलीले तत्काल जवाफ फर्काए, ‘तपाईंले मेरो मृत्यु चाहनुभएको छ, स्वास्थ्य लाभको कामना गर्नुपर्दैन।’
नेपालले उनीनिकट नेताहरूसँग आफूले शुभकामना दिँदा पनि प्रधानमन्त्रीले चाहिँदैन भनेपछि ‘तपाईं यति निकृष्ट र आपराधिक ढंगले पनि सोच्नुहुन्छ?’ भनेर प्रश्न सोधेको बताएका थिए।
स्रोतअनुसार प्रधानमन्त्रीको सो भनाइमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सचिवालय सदस्य बामदेव गौतम र नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका थिए। उनीहरूले स्वास्थ्यलाभको कामना गर्दा पनि चाहिँदैन भन्न हुँदैन भनेर प्रधानमन्त्रीलाई सम्झाएका थिए।
त्यसयता ओली र नेपालको सम्बन्ध राम्रो थिएन। केही दिनअघि ओली बिरामी भएर ग्राण्डी अस्पताल बस्दा पनि नेपाल भेट्न गएका थिएनन्।
पार्टीका निर्णयमा पनि अध्यक्षद्वयको मनपरी भएको भन्दै नेपालले असन्तुष्टि जनाउँदै आएका छन्। पछिल्लोपटक सात प्रदेश प्रमुख नियुक्त गर्न अध्यक्षद्वयले आफ्ना निकट व्यक्ति छानेपछि नेपालले सचिवालय बैठकमा नोट अफ डिसेन्ट नै लेखेका थिए।