प्रधानमन्त्री केपी शर्मा ओली शनिबार डायलासिस गरेर प्रधानमन्त्री निवास बालुवाटर फर्किएका छन्।
ग्राण्डी इन्टरनेशनल अस्पतालमा तेस्रो पटक डायलासिस गरेर उनी केहीबेरअघि बालुवाटार फर्किएका हुन्।
यसअघि ग्राण्डीमै प्रधानमन्त्री ओलीको दुईपटक डायलासिस गरिएको थियो।
१२ वर्षअघि भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले गत साउनमा पहिला खाँदै आएको औषधि परिवर्तन गरेका थिए।
मिर्गौला प्रत्यारोपण गरेका बिरामीले त्यसको कार्य सन्तुलन कायम राख्न औषधी खाइरहनु पर्छ। यसअघि नियमित फलोअपका लागि बैंकक जाने प्रधानमन्त्री गत साउनमा सिंगापुर गएका थिए। सिंगापुरमा उनले पहिले खाने औषधि परिवर्तन गरिएको थियो। औषधिको नकारात्मक असर देखिएपछि भदौमा प्रधानमन्त्री ओली फेरि सिंगापुर गएका थिए।
स्वास्थ्यमा समस्या भएपछि उनी गत कात्तिक १३ गते अस्पताल भर्ना भएका थिए। १३ र १४ गते ग्रान्डी अस्पतालमा प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस गरिएको थियो।
चिकित्सकहरूले प्रधानमन्त्री ओलीले अब सातामा तीन पटक डायलासिस गर्नुपर्ने बताउँदै आएका छन्। डायलासिस नगर्ने भए फेरि मिर्गौला प्रत्यारोपण गर्ने विकल्प पनि प्रधानमन्त्रीसँग छ।