सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय आज बैठक बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे सचिवालय बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले सेतोपाटीलाई बताए।
शनिबार ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलासिस गरेका प्रधानमन्त्री ओलीले आज सचिवालय बैठक डाकेका हुन्। बैठकको तय भने शनिबार भइसकेको थियो।
आजको बैठकमा पार्टी एकताका बाँकी विषयमा टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ। नेकपाको एकताप्रकृयाको सबभन्दा पेचिलो विषय हो अध्यक्षको कार्यविभाजन। अध्यक्षद्वय मध्ये एकले सरकार चलाउने र अर्कोले पार्टी चलाउने गरी कार्यविभाजन हुनुपर्ने अध्यक्ष दाहाल लगायतका नेताहरूको माग छ। आजको सचिवालय बैठकमा अध्यक्षको कार्यविभाजनबारे पनि छलफल हुने नेकपाका एक नेताले बताए।
त्यसबाहेक नेकपामा प्रवास कमिटी अझै गठन भएको छैन भने केन्द्रीय विभाग, जनसंगठन र आयोगहरूले अझै पूर्णता पाएका छैनन्।