सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्रीहरूले घुस लिएर कर्मचारीको सरूवा, बढुवा गर्ने गरेको आरोप लगाएका छन्।
नेता र मन्त्रीहरूले घुस लिएर कर्मचारी नियुक्ति, सरूवा र बढुवा गर्ने गरेकोले मुलुकको सबै क्षेत्र बिग्रेको उनले बताए।
‘कर्मचारी नियुक्तिमा घुस, सरूवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरू आफैं संलग्न छन्,’ काठमाडौंमा सोमबार भएको एक कार्यक्रममा नेता नेपालले भने, ‘यसै कारण मुलुकको सबै क्षेत्र बिग्रेको छ।’
स्थानीय तहमा करोडौं बजेटमाथि लुट मच्चाउने काम भइरहेको पनि उनले बताए।
‘कर्मचारीसँग मिलेर स्थानीय तहमा लुट मच्याइराखेका छन्, सरकारले उनीहरूमाथि कडा कारबाही गर्नुपर्छ,’ उनले भने।
मुलुकमा लुट मच्चाउनेहरूको सात पुस्ते सम्पत्ति जफत गर्नुपर्ने उनले बताए।