सत्ताधारी पार्टी लिबरलका दुई सांसदलाई चिनियाँया राजदूतावासले भिसा दिन अस्वीकार गरेपछि यतिबेला अस्ट्रेलियाको राजनीति तातेको छ।
अस्ट्रेलियन लिबरल पार्टीका संघीय सांसद एन्ड्रयु हेस्टी र जेम्स प्याटर्सनलाई अध्ययन कार्यक्रमका लागि चीन जाने क्रममा क्यानबेरास्थित चिनियाँ राजदूतावासले भिसा दिन अस्वीकार गरेको थियो।
पछिल्लो समय हङकङ र चिनियाँ राजनीतिको विषयमा तिखो टिप्पणी गरेका कारण लिबरलका यी दुई सांसदलाई प्रवेशाज्ञा नदिएको चिनियाँ दूतावासले जनाएको छ। राजनीतिक कारणबाट प्रेरित भएर प्रवेशाज्ञा दिन अस्वीकार गर्नु गलत रहेको लिबरल सांसदहरुले आरोप लगाएका छन्।
अस्ट्रेलियन पोलिसी इन्स्टीच्युट चिनियाँ मामिला सम्वन्धि अध्ययनको लागि बेइजिङ जाने योजना रहेकाअस्ट्रेलियाली सांसदहरुको टोलीमा लिबरलका यी दुई सांसदहरु थिए।
चीनले दुई सांसदलाई भिसा नदिने भएपछि अस्ट्रेलियन सरकारले यो भ्रमणलाई नै स्थगित गरेको छ । टोलीका महत्वपुर्ण सदस्यहरु बिना यो अध्ययन भ्रमणको कुनै महत्व नरहेको भन्दै कार्यक्रम स्थगित गरिएको हो।
चीनको विगर प्रान्तमा रहेका मुस्लिम समुदायमाथि भएको मानव अधिकार हनन र हङकङको विरोधमा भएको हस्तक्षेपका बारेमा अस्ट्रेलियन सांसदहरुले आफ्नो धारणा राखेका थिए। तर चिनियाँ सरकारले भने यी सांसदहरुको भनाइमाथि आपत्ति जनाउँदै आआफ्ना धारणा सच्याउनु पर्ने जनाएको छ। तर अस्ट्रेलियन सांसद हेस्टीले भने आफुले सत्य र तथ्य बोलेको हुँंदा भनाइ सच्चाउनुपर्ने कुनै कारण नरहेको बताए।