उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव भारत गएका छन्।
समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादव सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी भारतको नयाँ दिल्ली गएका हुन्।
भारतमा रहँदा मन्त्री यादव औषधी उत्पादनसम्बन्धी कार्यक्रममा सहभागी हुनेछन्। तीन दिनसम्म यो कार्यक्रम चल्नेछ।
उपप्रधानमन्त्री यादवका सहयोगी महेश चौरासियाले मन्त्री यादव शुक्रबार नेपाल फर्कने जानकारी दिए।
‘उहाँ औषधी उत्पादनसम्बन्धी कार्यक्रममा भाग लिन जानुभएको हो,’ उनले सेतोपाटीसँग भने।
मन्त्री यादवले भारतमा रहँदा राजनीतिक भेटघाट पनि गर्ने भएका छन्। तर कुन नेतासँग कहाँ भेट गर्ने अहिल्यै खुलाइएको छैन।
‘राजनीतिक भेटघाटको पूर्वनिर्धारित कार्यक्रम छैन। तर त्यहाँ गएपछि अवश्य भेटघाट हुनसक्छ,’ चौरासियाले भने।
समाजवादी पार्टीको हालै सकिएको बैठकले सरकार छाड्ने/नछाड्ने र राजपासँग एकीकरणबारे ठोस निर्णय गर्न सकेको छैन।
सरकारबारे र राजपासँग एकीकरणबारे निर्णय गर्ने अधिकार केन्द्रीय कार्यकारिणी समिति (पदाधिकारी) लाई दिए पनि अहिलेसम्म केही निर्णय गर्न सकेको छैन।