मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको तीन घण्टा लामो बैठक बिना निष्कर्ष टुंगिएको छ।
सोमबार साँझ ५ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा दुबै अध्यक्षको बैठक बसेको तर खास कुरा अघि नबढेको बालुवाटार र अध्यक्ष दाहालनिकट स्रोतले बताएका छन्।
'बस्न त मन्त्रिपरिषद् हेरफेरकै लगायतका विषयमा छलफल गर्न भनेर बस्नुभएको हो तर केही टुंगो लागेन,' स्रोतले भन्यो, ‘आज केही नहुने भो। भोलि पनि फेरि छलफल हुन्छ होला।’
केही मन्त्रीहरूको कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरिरहेका छन्।
आइतबार साँझ बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकमा पनि केही दिनमा मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी गरेको उनले बताएका थिए। उनले सबै मन्त्रीलाई फेर्न लागेको नभई राम्रो ‘परफरमेन्स’ नभएका केहीलाई मात्रै हटाउन लागेको बताएका थिए। तर, क-कसलाई फेर्न लागिएको हो भन्नेबारे प्रधानमन्त्रीले सचिवालय बैठकमा पनि भनेका छैनन्।
‘साह्रै कमजोर परफरमेन्स भएकालाई फेर्नैपर्ने भएको छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै एक सचिवालय सदस्यले आइतबार सेतोपाटीसँग भनेका थिए, ‘को-को फेर्ने भन्ने पनि टुंगो लागिसकेको छैन।’
६-७ जना मन्त्रीहरू फेर्नै पर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेको स्रोतले बतायो। कसलाई हटाउने गर्ने र कसलाई नयाँ मन्त्री बनाउने भन्नेबारे दुई अध्यक्षबीच छलफल चलेको हो। दुई जनाबीच मात्र होइन, पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन अर्का नेता माधवकुमार नेपालको समेत चित्त बुझाउनु पर्ने हुन्छ।