सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्री मण्डल फेरबदल प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्राधिकारको विषय भएको बताएका छन्।
मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डको सचिवालयले मन्त्रीहरूका विषयमा प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित/प्रकाशित अनर्गल र भ्रामक समाचारको खण्डन गरेको छ।
‘मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ,’ प्रचण्डको सचिवालयले भनेको छ,‘पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुष्प्रचार भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं।’
केही दिनयता विभिन्न सञ्चारमाध्यममा ओली मन्त्रिपरिषदमा फेरबदल हुन लागेको समाचार निरन्तर प्रकाशित भइरहेका छन्।