भारतको सर्वोच्च अदालतले आइएनएक्स मिडिया मुद्रा निर्मलीकरण प्रकरणमा मुछिएका पूर्वअर्थमन्त्री तथा कंग्रेस आईका नेता पी चिदम्बरमलाई जमानत दिएको छ।
बुधबार सर्वोच्च अदालतका तीन न्यायधीशको इजलासले चिदम्बरमलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
उनी गत अगष्ट २१ देखि प्रहरी हिरासतमा थिए।
चिदम्बरमले यसअघि जमानतमा रिहाइ माग्दै दिल्लीस्थित उच्च अदालतमा निवदेन दिएका थिए तर उच्च अदालतले उनको माग अस्वीकार गरेको थियो। त्यसपछि उनीसर्वोच्च गएका थिए।
सर्वोच्चले चिदम्बरमलाई मुद्दाबारे पत्रकारसँग कुराकानी गर्न प्रतिबन्ध लगाएको छ भने अदालतको आदेशबिना उनी विदेश जान पाउने छैनन्।
भारतीय टेलिभिजन कम्पनी आइएनएक्स मिडियासँग सम्बन्धित भ्रष्टाचार र मुद्रा निर्मलीकरण मुद्दामा संलग्न रहेको भन्दै गत सेप्टेम्बर ५मा पक्राउ गरिएको थियो। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोले हिरासतमा राखेको थियो।
मनमोहन सिंहको सरकारमा चिदम्बरम गृहमन्त्री थिए। त्यति बेला अर्थमन्त्री रहेका प्रणव मूखर्जी राष्ट्रपति भएपछि चिदम्बरमले अर्थ मन्त्रालय सम्हालेका थिए।
आइएनएक्स मिडियाकी मालिककी श्रीमतीको बयानका आधारमा पी चिदम्बरमलाई हिरासतमा लिइएको हो। अर्थमन्त्री भएकै बेला चिदम्बरमले आफ्नो छोरा कर्ती चिदम्बरमको कम्पनीलाई आर्थिक सहयोग गर्न आग्रह गरेको भन्दै उनले बयान दिएकी थिइन्।