अफगानी जीवनस्तर सुधार्न आफ्नो जीवन समर्पण गरेका जापानी डाक्टरको एक बन्दुकधारी समूहको आक्रमणमा परी मृत्यु भएको छ।
७३ वर्षीय डा टेत्सु नाकामुरालाई आयोजनाको निरीक्षण गर्न कारमा गइरहेको समयमा बुधबार बिहान बन्दुकधारीले गोली हानेको अफगानी अधिकारीले बताएका छन्। नाकामुराले अफगानिस्तानको सिँचाइ सुधार गर्न केन्द्रित जापानी च्यारिटीको नेतृत्व गरेका थिए।
अफगानिस्तानको जललावादमा भएको सो हमलामा अन्य पाँच जनाको मृत्य भएको छ। उक्त हमलामा उनीसहित उनका तीन सुरक्षाकर्मी, कार चालक र सहकर्मी मारिएका हुन्। उनको छातीको दाहिने भागमा गोली हानिएको थियो। अस्पताल लैजाने क्रममा उनको जललावाद विमानस्थलमा मृत्यु भएको अधिकारीलाई उदृत गर्दै एफपीले जनाएको छ।
डा नाकामुराको मानवीय कामका लागि उनलाई अफगानी सरकारले यसै अक्टुबरमा मानार्थ नागरिकता प्रदान गरेको थियो। सो घटनाको जिम्मेवारी कसैले नलिएका कारण हमलाको कारण खुल्न सकेको छैन। काबुलस्थित अमेरिकी दूतावासले घटनाको भर्त्सना गर्दै हमला सहयताकर्मी लक्षित नभएको बताएको छ।
यस्तो हमला अफगानिस्तानमा सामान्य मानिन्छ। गत हप्ता अफगानिस्तानस्थित संयुक्त राष्ट्र संघका लागि काम गरिरहेका एक अमेरिकी नागरिक पनि संघको सवारीसाधन लक्षित बिस्फोटमा मारिएका थिए।