पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले टुँडिखेल अतिक्रमणमुक्त गर्ने नागरिक अभियान ‘अकुपाई टुँडिखेल’ मा आफ्नो ऐक्यबद्धता व्यक्त गरेका छन्।
आइतबार बिहान अभियन्ताहरूसँग कुराकानी गर्दै नेपालले काठमाडौंको पर्यावरण र विपत व्यवस्थापन निम्ति टुँडिखेल लगायत खुला स्थलहरूको संरक्षणमा जोड दिए।
‘टुँडिखेल लगायतका खुला ठाउँहरू हामीले जोगाउनुपर्छ। यहाँ भौतिक संरचनाहरू निर्माण गर्न दिनु हुँदैन। यसलाई अझ सुन्दर बनाउनुपर्छ,’ उनले भने, ‘चाहे नेपाली सेनाले होस् वा नगरपालिकाले होस्, जुन किसिमले यहाँ भवन बनाउँदै लगेको छ, त्यो अत्यन्तै अनुपयुक्त छ। यहाँ बसपार्क पनि राख्न हुँदैन। खुला स्थलकै रूपमा संरक्षण गर्नुपर्छ।’
विभिन्न सरकारी निकायहरूबाट लामो समयदेखि अतिक्रमण हुँदै आएको टुँडिखेललाई खुला सार्वजनिक स्थलमा परिणत गर्न जागरूक नागरिकहरूबाट सञ्चालित 'अकुपाई टुँडिखेल' अभियान पाँचौं सातामा प्रवेश गरेको छ।
यसबीच अभियन्ताहरूले विभिन्न राजनीतिक दलका नेताहरूलाई भेटेर खुला स्थलको महत्वमाथि छलफल गरिरहेका छन्। यसअघि उनीहरूले नेपाली कांग्रेसका नेताहरू प्रकाशमान सिंह, भीमसेनदास प्रधान र नवीन्द्रराज जोशीसँग भेटेका थिए। यही क्रममा आइतबार बिहान नेकपा नेता नेपाललाई उनकै निवासमा गएर भेटेका हुन्।
‘टुँडिखेललाई अतिक्रमणमुक्त गर्ने अभियान एकदमै राम्रो छ,' नेपालले टुँडिखेल अभियन्ताहरूको हौसला बढाउँदै भने, 'तपाईंहरू दृढताका साथ अगाडि बढ्नुस्।’
पछिल्लो समय विश्वव्यापी रूपमा देखापरेको पर्यावरणीय समस्या र २०७२ को भुइँचालोले काठमाडौंजस्तो सहरमा खुला ठाउँको आवश्यकता देखाएको उनले बताए। भुइँचालो बेला मध्यसहर वरपरका काठमाडौंबासीले टुँडिखेलमा आश्रय लिएका थिए। काठमाडौंका विभिन्न ठाउँमा रहेका खुला चउरहरू भुइँचालो प्रभावित स्थानीयले भरिएका थिए।
भुइँचालोबाट पाठ सिकेर काठमाडौंका टोल–टोलमा खुला चउर र खुला पार्कहरू बनाउनुपर्ने नेपालको भनाइ थियो। ‘चउरहरू मास्ने कार्यलाई हामीले कुनै हालतमा प्रोत्साहन दिनु हुँदैन, त्यसलाई निरुत्साहित गर्नुपर्छ,’ उनले भने।
टुँडिखेल लगायत काठमाडौंका ऐतिहासिक तथा पुरातात्विक थलोहरू संरक्षण गर्दै त्यहाँको वास्तविक स्वरूप कायम राख्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।
‘नेपाली सेनाले अस्पतालका रूपमा चलाएको ठाउँलाई अस्पतालकै रूपमा राख्नुपर्छ। खुला ठाउँ देख्नेबित्तिकै भवन बनाइहाल्ने, मल चलाइहाल्ने कामलाई पूर्ण निरुत्साहित गर्नुपर्छ। खुला ठाउँहरू मास्ने कुनै पनि गतिविधिलाई हामीले साथ दिनु हुँदैन। तपाईंहरूको भावनासँग म सहमत छु,’ उनले भने।
पर्यावरण संरक्षणको यो अभियानलाई काठमाडौं उपत्यकाभरि र देशव्यापी रूपमा सञ्चालन गर्न उनले आह्वान गरे। ‘यो राष्ट्रिय अभियानमा तपाईंहरू अगाडि बढ्नुस्, मेरो धेरै धेरै शुभकामना छ,’ उनले भने।
एक महिनाअघि टुँडिखेलको महत्वपूर्ण हिस्सा खुलामञ्चलाई मानव सांग्लोले घेरेर सुरू यो अभियानअन्तर्गत प्रत्येक शनिबार टुँडिखेलकै बीचमा जनचेतनामूलक कार्यक्रम हुँदै आएको छ।
दोस्रो शनिबार टुँडिखेलको पुरानो सम्झना सजीव पार्दै नयाँ र पुरानो पुस्ताका प्रतिनिधिले खरीको बोट रोपेका थिए। त्यसपछिको शनिबार टुँडिखेलसहित खुला स्थलको महत्व झल्काउने गरी कविता वाचन गरियो। त्यस्तै, टुँडिखेलको ऐतिहासिक, सांस्कृतिक, पर्यावरणीय र सम्पदा महत्वमाथि सम्बन्धित क्षेत्रका विज्ञहरूले प्रकाश पारे।
अभियन्ताहरूले दक्षिण एसियाली खेलकुद (साग) को सन्दर्भ पारेर शनिबार आयोजित पाँचौं साताको कार्यक्रमलाई खेलकुदको विकासमा खुला स्थलको महत्वसँग जोडेका थिए। यसपालिको नारा 'देशका लागि खेलाडी, खेलाडीका लागि खुला टुँडिखेल' थियो। युनिटी तेक्वान्दो दोजाङका खेलाडीले आफ्नो खेल दर्शन गरेका थिए।
काठमाडौंको वातावरण, भूमिगत पानी व्यवस्थापन र स्वस्थ जीवनयापनका लागि अपरिहार्य यो खुला चउर बसपार्क, अनधिकृत पसल सञ्चालन, पार्किङ, भवन बनाउने सामान र कामदार बस्ने ठाउँ बनाएर मासिँदै छ। विगतमा रानीपोखरीदेखि दशरथ रंगशालासम्म फैलिएको टुँडिखेललाई पुरानो स्वरूपमा फर्काउने र कुनै पनि भौतिक संरचना नभएको खुला सार्वजनिक स्थलमा परिणत गर्ने उद्देश्यले नागरिक स्तरमा यो अभियान सुरू भएको हो।
यसअन्तर्गत आयोजना गरिँदै आएको जनचेतनामूलक जमघट आगामी सात सातासम्म कायम रहनेछ।
भिडिओ स्रोत: मुक्त टुँडिखेल अभियान