नागरिकता संशोधन विधेयक विरोधमा आसामको गुवाहाटीमा तनाव बढेपछि आसाम सरकारले कर्फ्यु जारी गरेको छ।
बुधबार राज्यसभाबाट ६ घण्टा लामो चर्काचर्की पछि भारतका गृहमन्त्री अमित शाहले उक्त विधेयक पेश गरेका थिए। उक्त विधेयक १२५ मतले पास गरेको थियो भने यसको विपक्षमा १०५ मत प्राप्त भएको थियो।
लोकसभा र राज्यसभाबाट विधेयक पारित भएपछि त्यसको विरोध भइरहेको छ।
हजारौं प्रदर्शनकारीले नगरिकता विधेयकको विरोधमा बुधबार सवारीसाधनमा आगजनी, पसलमा तोडफोड र ढुंगामुढा समेत गरेका थिए। घटनाले उग्र रूप लिएपछि गुवाहाटीमा बुधबार साँझदेखि कर्फ्यू लगाइएको छ।
बढ्दो तनावलाई नियन्त्रण गर्न आसामका विभिन्न जिल्लामा सेना समेत परिचालन गरिएको छ।
सरकारले बुधबार साँझ ७ बजेदेखि २४ घण्टाका लागि लखिमपुर, तिनसुकिया, धेमाजी, दिब्रुग्रह लगायतका १० जिल्लामा इन्टरनेट सेवा ठप्प पारेको छ।
सन् १९५५ को नागरिकता ऐनलाई संशोधन गरेर बनेको नागरिकता विधेयक कानुन बनेपछि अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट अवैध रूपमा भित्रिएका गैर-मुस्लिमलाई समेत नागरिकता पाउनेछन्।
सन् २०१४ डिसेम्बर ३१ तारिखअघि भारत भित्रिएका अवैध आप्रवासीहरूले नागरिकता पाउने भएका हुन्। कम्तीमा पनि ३० हजार अवैध आप्रवासीहरूलाई नागरिकता दिन लागेको भारतीय सञ्चार माध्यमले जनाएको छ।
विधेयकले आफ्नो अधिकारलाई सीमित पार्ने भन्दै नागरिकहरू विरोधमा उत्रिएका हुन्।
सरकारले कर्फ्यू जारी गरेता पनि आसामका नागरिकहरूले भने त्यसको अवज्ञा गरेका छन्।
आसामका धेरै इलाकामा स्थिति बिग्रँदै गइरहेको छ। कर्फ्यूको अवज्ञा गरेको भन्दै प्रहरीले फायरिङ गरेको छ। प्रदर्शनकारी र प्रहरीबीच भिडन्त हुँदा कैयौं प्रदर्शनकारी घाइते भएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले भने यस विधेयकका विषयमा चिन्ता नलिन आसामका नागरिकहरूलाई आग्रह गरेका छन्।
'म दाबी गर्छु, कसैले तपाईंहरूको अधिकार, पहिचान र संस्कार खोस्दैन', उनले भने।