प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा सरकारले हालै दर्ता गरेको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ स्वीकार्य नहुने बताएको छ।
संसद बैठक बस्नु चार दिनअघि सोमबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति निकालेर उक्त विधेयक फिर्ता लिन माग गरेका छन्।
विधेयकमा संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनियता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने प्रावधान राखी संविधान प्रतिकूल ऐन बनाउने कार्य भएकोले त्यो स्वीकार्य नहुने कांग्रेसले उल्लेख गरेको हो।
‘प्रस्तुत भएको विधेयक नेपालको संविधानमा उल्लेखित नागरिक स्वतन्त्रता, गोपनियताको हक लगायतको मौलिक हकको प्रतिकूल भएको हुँदा विधेयकलाई तत्काल फिर्ता गर्न कांग्रेस संसदीय दल माग गर्दछ,’ खाँणले भनेका छन्, ‘संविधानको प्रतिकूल र नागरिकका स्वतन्त्रता र हित विपरित हुने खालका यस्ता विधेयक प्रस्तुत नगर्न सरकारलाई कांग्रेस सचेत गर्दछ।’
विशेष सेवासम्वन्धी विधेयकमार्फत् सरकारले प्रतिजासुसी संयन्त्र निर्माण गर्न लागेको हो। प्रधानमन्त्रीको मातहतमा रहने राष्ट्रिय अनुसन्धान विभाग मातहत प्रतिजासुसी विभाग रहनेछ। संयन्त्रलाई रक्षात्मक, प्रतिरक्षात्मक र प्रतिकारात्मक कार्य सञ्चालन गर्ने अधिकार दिन विधेयकमा प्रस्ताव गरिएको छ।
यो पनि:
विदेशी गुप्तचरविरुद्ध नेपालले प्रतिजासुसी गर्ने