सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यहरूले पार्टीभित्र झ्यांगिएको गुटबन्दी निरूत्साहित गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमाथि छलफलमा भाग लिँदै सोमबार स्थायी कमिटी सदस्यहरूले चरम गुटबन्दी निरूत्साहित गर्न माग गरे।
‘आफ्ना धारणा राख्दै अधिकांश स्थायी कमिटी सदस्यहरूले अध्यक्ष र महासचिवले राखेको प्रस्तावलाई समर्थन नै गर्नुभयो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग भने, ‘प्रस्ताव परिमार्जन गर्ने सन्दर्भमा आफ्ना विचार, सुझाव र आलोचनात्मक टिप्पणी आएका छन्।’
प्रवक्ता श्रेष्ठका अनुसार स्थायी कमिटी सदस्यका लागि छलफलमा भाग लिन २० मिनेटको समय दिइएको थियो।
प्रस्तावहरूमाथि मंगलबार पनि छलफल हुनेछ।
मंगलबार ११ बजे पुन: बैठक बस्ने उनले जानकारी दिए।
स्थायी कमिटी सदस्यहरूले संगठन निर्माणको कार्यलाई सुदृढ गरेर जानुपर्ने सुझाव पनि दिएका थिए।
‘गुटबन्दी कसरी निरूत्साहित गर्ने, भ्रष्टिकरण कसरी रोक्ने र सरकारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने सुझाव पनि आएका छन्,’ श्रेष्ठले भने।
पार्टीलाई अझै क्रान्तिकारी र एक ढिक्का बनाएर अघि बढाउन पनि स्थायी कमिटी बैठकमा आवाज उठेको छ।
सोमबार बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, गणेश शाह, योगेश भट्टराई, छविलाल विश्वकर्मा, युवराज ज्ञवाली, भीम रावल, देव गुरूङ, पम्फा भुसाललगायतले धारणा राखेका थिए।
२०७७ सालभित्र राष्ट्रिय महाधिवेशन गर्ने गरी अघि बढ्न पनि सुझाव आएको श्रेष्ठले जानकारी दिए।