नेपाल विद्यार्थी संघले छिटो केन्द्रीय समिति गठन गर्न माग गरेको छ।
फागुन १४ मा स्ववियु निर्वाचन हुने भएकोले तयारीका लागि पनि छिटो नेविसंघको केन्द्रीय समिति आवश्यकता परेको विद्यार्थीले बताएका छन्।
नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिले उपत्यकास्तरीय स्ववियु निर्वाचन तयारीका लागि शुक्रबार गरेको छलफलपछि चार बुँदे निर्णय गर्दै केन्द्रीय समिति छिटो गठनका लागि पार्टीसँग माग गरेको हो।
नेविसंघ त्रिवि इकाइ सचिव योगेन्द्र रावलका अनुसार बैठकले स्ववियु निर्वाचन गर्ने त्रिवि निर्णयलाई स्वागत गरेको छ। ‘सम्पूर्ण शक्ति स्ववियु निर्वाचनमा केन्द्रीत गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि पार्टीले छिटो केन्द्रीय समिति गठन गर्नुपर्यो।’
नेविसंघका पूर्वसहमहामन्त्री बलदेव तिमिल्सिनाले स्ववियु निर्वाचन जित्नका लागि सबैको सहयोग आवश्यक पर्ने उल्लेख गरे।
नैनसिंह महर नेतृत्वको नेविसंघ विघटन भएको एक वर्ष हुँदा पनि नेविसंघ केन्द्रीय समिति गठन भएको छैन।
सभापति शेरबहादुर देउवाले मंसिर २६ को केन्द्रीय समिति बैठकमा नेविसंघ गठन गर्ने प्रस्ताव लगे पनि अहिलेसम्म कुनै निर्णय भएको छैन।
नेविसंघले पार्टी केन्द्रीय कार्यालयमै एक महिनादेखि रिले अनसन गर्दै छिटो नेविसंघलाई नेतृत्व दिन र विधानअनुसार ३२ वर्षे उमेरहद लागू गर्न माग गरिरहेका छन्।