प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको भेटमा सभामुख चयनको विषयमा छलफल हुने प्रधानमन्त्री निकट स्रोतले सेतोपाटीलाई बतायो।
दुई अध्यक्षबीच पछिल्ला दिन भएका छलफलहरु सकारात्मक हुँदै गएको दुई अध्यक्ष निकट नेताहरुको दाबी छ।
यसअघि सभामुख चयनमा सहमति हुन नसक्दा ४ पटकसम्म संसद बैठक सुचना टाँसेर स्थगित भइसकेको छ। पुस ४ गते संसदको हिउँदे अधिवेशन शुरु भएको भएपनि सभामुख चयनमा सहमति हुन नसक्दा संसद अवरुद्ध हुँदै आएको छ।
प्रधानमन्त्री ओलीले पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई बनाउन चाहेका छन्।
उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि सभामुखमा दाबी गर्दै आइरहेकी छन्। एक साता अगाडि नेकपा सचिवालय बैठकले उपसभामुखलाई राजिनामा दिन भनेपनि सभामुमखको उम्मेदवार तय नँहुदासम्म राजिनामा नदिने अडान उनले राखेकी छन्।
संसदको बैठक माघ ६ गतेका लागि बोलाइएको छ।