सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले ह्विप जारी गरेर भएपनि प्रतिनिधिसभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजना पारित हुने बताएका छन्।
रिपोटर्स क्लबमा भएको साक्षत्कार कार्यक्रममा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई अघि बढाउन चाहेकोले पनि यो पारित हुने बताए। प्रतिपक्षी दल पनि पारित गर्नुपर्ने पक्षमा रहेको र प्रधानमन्त्रीको चाहाना पनि पारित हुनुपर्छ भन्ने भएपछि संसदमा ह्विप लागू गरेर पनि एमसिसी पारित हुने उनको भनाइ छ। एमसिसीको ५५ अर्ब रुपैयाँ अनुदान गुम्न नदिने पक्षमा आफू रहेको पौडेलले बताए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले सत्तापक्षले एमसिसी पास गर्नुपर्ने बताए। ‘सबैले यसलाई स्वीकार्नुपर्छ, अहिलेको सत्तापक्षले पनि यसलाई पास गर्नुपर्छ। यो कम्प्याक्टमा भएका प्रावधानमा केही कमिकमजोरी भए यसबारेमा छलफल गर्न सकिन्छ’ उनले भने ‘हिजो अरुण तेस्रो परियोजना बनाउनुपर्छ भन्दा तत्कालीन नेकपा एमालेले विरोध गरेपछि त्यत्तिकै कोल्याप्स भयो।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेताहरुलाई छलकपटको राजनीतिक नगर्न सुझाव दिए। हिजो महाकाली सन्धी गर्ने समयमा ठूला कुरा गरिएको भएपनि कति नाफा लिनसकियो भन्ने प्रश्न गर्दै उनले एमसिसीमा रहेका प्रावधानहरु हेर्नुपर्ने बताए। उनले भने ‘हिजो महाकाली सन्धि पारित गर्ने बेलामा पनि त्यस्तै ठूलो कुरा गरिन्थ्यो तर, अहिले कति नाफा लिन सक्यौं त? हामीले कोशी र महाकाली दिएकै हो। अहिले पनि अपर कर्णाली भारतीय जिएमआर कम्पनीसँग छ। हाम्रो कमजोरीलाई बाहृय शक्तिले खेल्छन, यहाँको राजनीतिज्ञ र प्रशासनलाई उनीहरुले खरिद गर्छन।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले विदेशी सहयोग लिँदा राष्ट्रहितका विषयमा सोच्नुपर्ने बताए। अहिले भारत र चीनबाट समेत नेपालले सहयोग लिँदै आएको बताउँदै उनले नेपालले आफ्नो राष्ट्रिय हित र स्वार्थ हेर्नुपर्ने बताए।