प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचार व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
चीनमा देखिएको कोरोना भाइरस अरू देशमा पनि फैलन सुरू गरेको छ।
चीनबाट नेपाल आएका एक व्यक्तिमा पनि उक्त भाइरस देखिएको थियो।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार निकालेको विज्ञप्तिमा चीनमा रहेका नेपालीको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने उल्लेख छ।
‘पढ्न र व्यवसाय गर्न गएका नेपाली पनि उच्च जोखिममा रहेकोले उनीहरूलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्धारका लागि आवश्यक व्यवस्था गर्न सरकार र सम्बन्धित पक्षसँग कांग्रेस संसदीय दल आग्रह गर्छ,’ खाँणले भनेका छन्।
साथै कांग्रेसले कोरोना भाइरस फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था तथा संक्रमित व्यक्तिको उचित उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ।