नेकपा केन्द्रीय कमिटीको बुधबार सुरू बैठक निम्ति राष्ट्रिय सभागृहको मञ्च झकिझकाउ थियो। सचिवालय सदस्यहरू मञ्चमा बसेका थिए भने दर्शकदिर्घामा केन्द्रीय सदस्यहरू थिए। त्यही मञ्चको एउटा सजावटमा भने केन्द्रीय सदस्यहरूले औंला उठाए।
उनीहरूले आपत्ति जनाएको सजावट हो, पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको तस्बिर।
मञ्चको बीच भागमा संस्थापक नेता पुष्पलाल श्रेष्ठ र पूर्व महासचिव मदन मण्डारीको तस्बिर थियो। त्यसैको दाहिनेतिर अध्यक्ष एवं प्रधानमन्त्री ओली र देब्रेतिर अर्का अध्यक्ष दाहालको तस्बिर राखिएको थियो। बहालवाला दुई अध्यक्षको फोटोलाई यसरी भित्ता टाँगेर 'देवत्वकरण गरिएको' भन्दै केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका हुन्।
केन्द्रीय सदस्यहरू राजेन्द्र राई, लेखनाथ न्यौपाने, जगन्नाथ खतिवडा लगायतले 'आफैं मञ्चमा बसेर आफ्नै फोटो राख्नु कम्युनिस्ट सिद्धान्तविपरीत' भन्दै फोटो हटाउन माग गरे।
'केही दिनअघि पार्टीले आचरण सुधार्ने भनेर विशेष सर्कुलेसन जारी गरेको छ। आज बैठकमा आउँदा राजा-रानीको झल्को दिने गरी दुई अध्यक्षको फोटो दायाँबायाँ राखिएको छ,' राजेन्द्र राईको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, 'हामी कम्युनिस्टहरू एकअर्कालाई कमरेड भन्छौं।त्यसो भनेको हामी सबै समान छौं भनेको हो। तर आज यो फोटो राख्न कसले लगायो? को हो यो फोटो राख्ने?'
दुई अध्यक्षसहित मञ्चमा बसेका नेताहरूप्रति सम्मान रहे पनि उनीहरूलाई सर्वेसर्वा मान्न नसकिने राईले बताए। उनले 'यस्तरी फोटो राखेर के सन्देश दिन खोजेको हो' भन्दै प्रश्नसमेत गरेका थिए। अर्को बैठकमा आउँदा फोटो हटाइसक्नुपर्ने उनको माग थियो।
राईको भनाइलाई समर्थन गर्दै अर्का केन्द्रीय सदस्य खतिवडाले 'यस्ता तस्बिर राखेर लाज हुन्छ कि गर्व लाग्छ' भनेर प्रश्न गरेका थिए।
फोटो राखिएकोमा विरोध गर्ने नेताहरूले चीनको उदाहरणसमेत दिए। चिनियाँ कम्युनिस्ट पार्टीको बैठकमा राष्ट्रपति एवं महासचिव सी चिनफिङको तस्बिर नराखिने उनीहरूले बताए।