नेकपाको बुधबार सुरू केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले दुई घन्टाभन्दा बढी समय भाषण गरे। भाषणको अधिकांश समय ओलीले सरकारका कामको प्रशंसामा खर्चिएका थिए।
उनले सरकारका कामबारे बैठकमा धेरै प्रश्न नउठोस् भन्ने शैलीमा विभिन्न क्षेत्रमा गरिएका सुधारको लामो तथ्यांक प्रस्तुत गरेका थिए।
पार्टी बैठकमा प्रधानमन्त्रीले सांगठनिक विषयमा बोल्नुको साटो फाइल नै पल्टाएर आफ्ना कामको बचाउ गर्नु अस्वाभाविक रहेको एक केन्द्रीय सदस्यले बताए। देशको प्रधानमन्त्रीले एउटा व्यापारिक संस्थाको पक्षमा बोल्नु आफैंमा सुखद नभएको पनि केन्द्रीय सदस्यहरूको धारणा छ।
'मैले यतीलाई यस कारणले अनुमति दिएँ, उसलाई दिनै पर्थ्यो भन्ने शैलीमा प्रधानमन्त्रीले बोल्नुभयो। पूर्वाधार सुधार्न पनि दिनुपर्थ्यो भनेको राम्रो लागेन,' एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भनिन्, 'देशमा काम गर्ने संस्था एउटा मात्र छैन होला। अरूलाई पनि त सरकारले हेर्नुपर्छ होला। अरूको सम्भावनालाई नै रोक्ने गरी भइरहेका कामको प्रधानमन्त्रीले बचाउ गर्नु राम्रो होइन।'
एउटा अमुक व्यक्तिसँगको सम्बन्ध देखाएर देशको सार्वजनिक सम्पत्ति भाडामा लगाउनु गलत रहेको उनले बताइन्।
ओलीले सार्वजनिक रूपमा भाषण गर्दा बेला-बेला ठट्टा गर्छन्। दर्शकदिर्घामा हाँसोको फोहरा छुट्छ। बुधबारको भाषण भने त्यस्तो थिएन। उनका अधिकांश भनाइ आक्रामकभन्दा रक्षात्मक देखिए।
'प्रधानमन्त्रीले आजको भाषणमा सरकारले गरेका कामको तथ्यांक पेस गर्नुभयो र गल्ती गरेको छैन भनेर दाबी गर्न खोज्नुभयो। गल्ती नगर्दा पनि आलोचना बढी भएको भन्दै दुखेसो सुनाउनुभयो,' बैठकमा सहभागी अर्का केन्द्रीय सदस्यले भने, 'उहाँको आजको शैली एकदमै फरक थियो।'
कतिपय केन्द्रीय सदस्यले त प्रधानमन्त्री ओलीको बुधबारको भाषणलाई संसदमा सरकारले विपक्षीका अगाडि दाबी गर्ने तथ्यांकजस्तो भनेका छन्।