प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै सरकार दुई वर्षसम्म चल्नुलाई पनि उपलब्धिका रूपमा लिनुपर्ने उल्लेख गरेका छन्।
प्रतिनिधिसभा बैठकलाई शनिवार संबोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार बन्ने र ढल्ने क्रममा एउटै सरकार दुई वर्षसम्म चल्नुलाई पनि उपलब्धिका रूपमा लिनुपर्ने अवस्था रहेको बताए।
‘एउटै सरकार दुई वर्ष चल्दा पनि उपलब्धिका रूपमा लिनुपर्दो रहेछ,’ प्रधानमन्त्री ओलीले भने।
उनले सरकार बनेको पहिलो वर्ष कानुन निर्माणमा ध्यान दिएको बताए। ‘दोस्रो वर्षलाई विकास आरम्भ वर्षको रूपमा लिएका छौं,’ उनले भने।
प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनका बेलाका कुरा सम्झिए। ‘कम्युनिष्टको सरकार बन्यो भने हाँस्न त के रून पन पाइँदैन भन्ने थियो। तर वास्तविकता त्यस्तो थिएन,’ उनले भने, ‘लोकतन्त्र संकटमा परेको अधिनायकवाद आउन लागेको भन्ने होइन।’
उनले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न लागेको भन्दै माइतीघरमा कहिले गुठी विधेयक अवतारमा त कहिले मिडिया विधेयकलाई लिएर चर्चा भएको पनि बताए। उनले गरिबी घटाउन र रोजगारी वृद्धिमा सरकारले काम गरिरहेको बताए। रोजगारीमा एक प्रतिशतले वृद्धि भएको उनको भनाइ छ।