प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि आफूलाई सम्पादकहरूले भनेका कुरा संसदमा सुनाएका छन्।
शनिबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तथ्यमा आधारित भएर सक्दो ‘क्रिटिकल’ हुन सम्पादकहरूलाई आग्रह पनि गरे।
‘सभामुख महोदय, केही दिनअघि केही सम्पादकले प्रश्न गर्नुभयो। हामी त चौथो अंग हौं, क्रिटिकल हुन्छौं। सरकारको खबरदारी गर्छौं। हाम्रो खबरमा नियत किन हेरिन्छ? अवश्य नै हेरिन्न। तथ्यमा आधारित भएर सक्दो क्रिटिकल होस्। लेखाइको लाइन स्पष्ट भए विटविन द लाइन पढिँदैन,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले आफ्ना पनि केही सरोकार रहेको सुनाए। ‘मेरो पनि केही सरोकार छन्। मेरो नेतृत्वमा रहेको सरकारले सुरू गरेको काम र गर्न लागेको राष्ट्रिय अभियानमा चाहिँ किन नियत हेरिन्छ?,’ उनले प्रश्न गरे, ‘के यो वैचारिक पूर्वाग्रहका कारणले हो? यस्तो हुनु बाञ्छनीय हुँदैन।’
ओलीले सरकारका काममाथि कतिपयले गरेको तर्क सुनेर आफू विस्मित हुने गरेको पनि उल्लेख गरे। सरकारले केही गरेन, गफ गरेर हुन्छ? भन्नेहरूप्रति प्रधानमन्त्रीले कटाक्ष गरे।
‘सरकारको कामबारे कुरा गर्दा गफ गरेर हुन्छ, गर्छु भनेर हुन्छ, काम गरेको देखिनुपर्यो। तथ्य/आँकडा प्रस्तुत हुनपर्यो भन्ने सुन्थें,’ उनले भने, ‘परिवेश अहिले बदलिएको देखियो। थेगोजस्तै बनेको छ, अंक र आँकडाले हुन्छ? ग्लोबल इन्डेक्समा होइन, जनतामा इम्प्रेसन के छ? भन्नेजस्ता कुरा सुनिन थाल्यो।’
उनले यस्ता तर्क सुन्दा आफू विस्मित हुने गरेको उल्लेख गर्दै थपे, ‘यस्ता कुरा सुनेर बेलाबेला विस्मित हुने गर्छु। भनौं कि जस्तो पनि लाग्छ। तर ठीकै छ।’
प्रधानमन्त्रीले सुन तस्करीलाई पक्राउ गरेर कारबाही गरिएको बताएका छन्।
सुन तस्करी तहसनहस बनाइएको दाबी प्रधानमन्त्रीको छ। तस्करीमा संलग्नहरू जेलमा रहेको उनले बताए। ‘मझेरीदेखि जंगलसम्म सुन लुकाउनेलाई कारबाही गरिएको छ,’ उनले भने।
प्रधानमन्त्रीले सडक कालोपत्रलाई सरकारले प्राथमिकता दिएको बताए। ‘प्रतिदिन करिब छ किमी सडक कालोपत्र भइरहेको छ। सरकार बनेपछि तीन हजार छ सय ३६ किमी सडक कालोपत्र भएको छ,’ प्रधानमन्त्री ओलीले भने।
तीन हजार किमीभन्दा बढी सडक गाभ्रेल भएको उनले बताए।
सरकार बनेपछि तीन सय २५ वटा पुल निर्माण भएको प्रधानमन्त्रीको भनाइ छ। यो चालु आर्थिक वर्षमा मात्रै ४१ पुल बनेको प्रधानमन्त्री ओलीले बताए।
देश अब तुइनमुक्त भएको प्रधानमन्त्रीले दाबी गरे। एक सय ३० भन्दा बढी तुइन रहेकोमा अहिले डेढ दर्जन पनि नरहेको र ती तुइन विस्थापित गरी पुल निर्माण कार्य भइरहेको बताए।
ओलीले एउटै सरकार दुई वर्षसम्म चल्नुलाई पनि उपलब्धिका रूपमा लिनुपर्ने उल्लेख गरेका छन्।
‘एउटै सरकार दुई वर्ष चल्दा पनि उपलब्धिका रूपमा लिनुपर्दो रहेछ,’ प्रधानमन्त्री ओलीले भने।
उनले सरकार बनेको पहिलो वर्ष कानुन निर्माणमा ध्यान दिएको बताए। ‘दोस्रो वर्षलाई विकास आरम्भ वर्षको रूपमा लिएका छौं,’ उनले भने।
प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनका बेलाका कुरा सम्झिए। ‘कम्युनिष्टको सरकार बन्यो भने हाँस्न त के रून पन पाइँदैन भन्ने थियो। तर वास्तविकता त्यस्तो थिएन,’ उनले भने, ‘लोकतन्त्र संकटमा परेको अधिनायकवाद आउन लागेको भन्ने होइन।’
उनले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न लागेको भन्दै माइतीघरमा कहिले गुठी विधेयक अवतारमा त कहिले मिडिया विधेयकलाई लिएर चर्चा भएको पनि बताए। उनले गरिबी घटाउन र रोजगारी वृद्धिमा सरकारले काम गरिरहेको बताए। रोजगारीमा एक प्रतिशतले वृद्धि भएको उनको भनाइ छ।