बलात्कार मुद्दामा सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महरा डिल्लीबजारस्थित कारागारबाट थुनामुक्त भएका छन्।
सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई बलात्कार मुद्दामा सफाइ दिएलगत्तै उनी थुनामुक्त भएका हुन्।
गत असोज १२ गते राति संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको र कुटपिट गरेको उजुरी परेपछि प्रहरीले असोज १९ गते महरालाई निवासबाट पक्राउ गरेको थियो।
त्यसबेला महरा प्रहरीको गाडीमा चढ्न मानेका थिएनन्। उनी बा १८ च ४०० नम्बरको निजी रातो कार चढेर प्रहरीकोमा गएका थिए। त्यसबेला महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले महरालाई निवासबाटै पक्राउ गरेको थियो।
पाँच महिना डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका महरा सोमबार अपरान्ह थुनामुक्त हुँदा पनि सोही रातो कार चढेर निवास फर्केका छन्। महरा खुमलटारस्थित निवास गएका हुन्।
कसरी छुटे महरा?
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले उक्त दिन महरा आफ्नो कोठामा नआएको बयान दिएपछि अदालतले मुख्य आधार यसैलाई बनाएर महरालाई सफाइ दिएको हो। महराले पनि उक्त दिन रोशनीको कोठा तीनकुने नगएको बयान दिएका थिए।
‘उनी (महरा) कोठामा नगएको भन्ने तथ्य जाहेरवाला (रोशनी) ले बयानका क्रममा पुष्टि गरिदिएकोले अभियोग दाबी बमोजिम प्रतिवादी कृष्णबहादुर महरालाई सफाइ पाउने ठहर गर्छ’ अदालतले फैसलामा उक्त कुरा उल्लेख गर्दै महराका वकिल मुरारी सापकोटाले भने।
अदालतबाट सफाइ पाएलगत्तै महरा डिल्लीबजारस्थित कारागार पुगेका छन्। अदालतले सफाइ दिएको भन्ने औपचारिक पत्र पाएपछि कारागारले महरालाई थुनामुक्त गर्ने जनाएको छ।
गत असोज १२ गते राति महरा रक्सी सेवन गरी कोठामा आएको र बलात्कार प्रयास गरेको रोशनीले त्यसबेला भिडियोमा भनेकी थिइन्। उक्त भिडिओमा आफूमाथि महराले बलात्कार प्रयास गरेको र नमान्दा कुटपिट गरेको शाहीले भनेकी थिइन्।
सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको अभियोगपत्रमा सबभन्दा बलियो प्रमाण घटनाकै रात शाहीको कोठामा पुगेर प्रहरीले लिएको भिडिओ रेकर्डलाई देखिन्थ्यो।
‘प्रहरीलाई भनिदिन्छु’ भनेपछि महरा हतारहतार निस्किएको शाहीले भोलिपल्ट (गत असोज १३ गते) पत्रकार अजयबाबु सिवाकोटीसँगको भिडिओ अन्तर्वार्तामा पनि बताएकी थिइन्।
त्यसरी हतारहतार महरा निस्किँदा कोठामै छुटेका जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा र भाँचिएको चस्माको खुट्टा प्रहरीले बरामद गरेको थियो। उक्त सिसाको पावर र महराले लगाएको चस्माको पावर एउटै भएको जाँचबाट देखिएको थियो। यो महरा विरूद्धको दोस्रो ठूलो प्रमाणका रूपमा हेरिएको थियो।
यस्तै महराका अंगरक्षकले पनि आफूहरू बाहिर बसेको र महरा रोशनीको कोठाभित्र गएको लिखित बयान प्रहरीलाई दिएका थिए। उक्त लिखित कागज पनि प्रहरीले अदालतमा प्रमाणको रूपमा प्रस्तुत गरेको थियो।
तिनै प्रमाणलाई आधार मान्दै पाटन उच्च अदालतले पनि महराले आफूलाई थुनामुक्त गरिपाउँ भन्दै दिएको निवेदन खारेज गरिदिएको थियो। काठमाडौं जिल्ला अदालतले महरालाई मुद्दाको अन्तिम फैसला नहुञ्जेल थुनामै राख्न दिएको आदेशविरूद्ध महरा पाटन उच्च अदालत गएका थिए।
महराले आफूमाथि बलात्कार प्रयास गरेको र कुटपिट गरेको भन्दै रोशनीले प्रहरीमा उजुरी दिएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगेर प्रहरीले स्वास्थ्य परीक्षण गराएको थियो। उक्त रिपोर्टले रोशनीमाथि कुटपिट भएको पुष्टि गरेको थियो। पछि अदालत गएर भने रोशनीले आफ्नो कोठामा महरा नआएको लिखित बयान दिएकी थिइन्।
यी सबै तथ्य र प्रमाण पन्छाएर अदालतले रोशनीको बयानका आधारमा महरालाई सफाइ दिएको हो।
तस्बिर : नारायण महर्जन
यो पनि:
महरा कारागारबाट आजै छुट्ने
बलात्कार मुद्दामा महराले पाए सफाइ
घटनाको रात रोशनीसँग लिएको भिडिओ महराविरूद्धको सबभन्दा बलियो प्रमाण