सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र सेक्युरिटी प्रेस कमिसनमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिनुपर्ने माग उठेको छ।
मन्त्री बाँस्कोटाको विवादास्पद अडिओ बाहिरिएकाले राजीनामा दिनुको विकल्प नरहेको नेकपाका एक स्थायी समिति सदस्यले सेतोपाटीलाई बताए।
'मन्त्री बाँस्कोटाको अडिओ परीक्षण हुन समय लाग्ला। यसै उहाँलाई दोष देखाउन पनि मिलेन,' पूर्वएमाले खेमाका ती नेताले भने,'छानविनका लागि सघाउन मन्त्रीले राजीनामा दिनुपर्छ। त्यसका लागि उहाँले प्रधानमन्त्रीको आदेशसमेत कुर्नु पर्दैन।'
उच्च स्रोतका अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सञ्चारमन्त्रीले राजीनामा दिनुपर्ने धारणा राखेका थिए।
नेकपाका अर्का स्थायी समिति सदस्य हरिबोल गजुरेलले सरकारले मन्त्री बाँस्कोटामाथि छानबिन गर्नुपर्ने माग गरे।
'अहिले नै उहाँलाई के गर्नुपर्छ भनेर मैले भन्न सक्दिनँ,’ गजुरेलले भने,'विवादास्पद अडिओमा भनेअनुसार हो कि होइन भनेर सरकारले मन्त्रीसँग स्पष्टिकरण लिएर अगाडि बढ्नुपर्छ।'
नेकपाको भातृ संगठन अनेरास्ववियूका संयोजक ऐन महरले पनि सञ्चार मन्त्री बाँस्कोटाको राजीनामा मागेका छन्।
फेसबुकमा स्टाटसमा लेखेका छन्- सञ्चारमन्त्रीज्यूले राजीनामा दिएर मार्गप्रशस्त गर्ने र यो घटनाको सत्यतथ्य छानबिन गरी कानुनी दायरामा ल्याउनु नै उचित हुन्छ।
यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक दल र नेताहरूले मन्त्री बाँस्कोटाले राजीनामा दिएर अनुसन्धानमा सघाउनु पर्ने माग गरेका थिए।
कांग्रेसले बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने भन्दै बिहीबारको राष्ट्रिय सभा बैठक पनि अवरोध गरेको छ।
सम्बन्धित समाचार :
सेक्युरिटी प्रेस खरिदमा लेखा समितिका प्रश्नैप्रश्न
खाएको विष लाग्छ, नखाएको लाग्दैन, एक-दुई दिन मजा लिन दिनुस्: गोकुल बाँस्कोटा
मन्त्री बाँस्कोटा मुछिएको सेक्युरिटी प्रेस प्रकरण के हो?
सेक्युरिटी प्रेस खरिद प्रकरणमा लेखा समितिको बदनाम गरिएको भन्दै सांसद आक्रोशित
ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु: मन्त्री बाँस्कोटा